पौडेललाई दाहाल-नेपालको आग्रह :देउवाले ओलीसँग मिलेर कुनै पनि कदम चाल्न सक्ने भन्दै निगरानी राख्नुहोस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवादले उग्र रुप लिइरहेका बेला नेताहरु प्रतिपक्षलाई फकाउने अभियानमा जुटेका छन्।

पछिल्लो समय विवाद चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल झस्किएका छन्।

ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँगको सहमतिमै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको आशंका गरिरहेका दुवै नेताहरु कांग्रेसका वरिष्ठ नतेा रामचन्द्र पौडेललाई फकाउन सक्रिय भएका छन्।

ओली र देउवाबीच भित्री साँठगाँठ रहेको निचोडमा पुगेका दुई नेताले शुक्रबार साँझ वरिष्ठ नेता पौडेललाई भेटेर फकाउने प्रयास गरेका हुन्। उनीहरुले नेकपामा विवाद बढिरहँदा ओलीले देउवालाई साथ लिएर सरकारको समीकरण फेर्न सक्ने अनुमानसहित त्यस्तो सम्भावना रोक्नका लागि पौडेललाई भेटेका हुन्।

दाहाल-नेपालले पौडेललाई भेटेर सभापति देउवाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मिलेर कुनै पनि कदम चाल्न सक्ने भन्दै निगरानी गर्न आग्रह गरेका हुन्।

‘सभापति देउवाको भूमिकाप्रति उहाँहरुलाई शंका रहेछ,’ वरिष्ठ नेता पौडेलनिकट एकजना नेताले थाहाखबरसँग भने, ‘प्रधानमन्त्री ओलीले थप कदम चालेको अवस्थामा देउवाले साथ नदिने वातावरण पार्टीमा बनाउन उहाँहरुले आग्रह गर्नु भएको छ।’

पेरिसडाँडामा गुट भेला गरेपछि पौडेललाई भेट्न पुगेका उनीहरुले कांग्रेस सभापति देउवाको भूमिकामा शंका रहेको भन्दै ओलीसँगको सम्भावित सत्ता साझेदारी रोक्न उनको भूमिका स्पष्ट बाहिर ल्याउन पौडेललाई आग्रह गरेका स्रोतले जनाएको छ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्‍जीवी अधिकारीले भने भेटवार्ताबारे आफूलाई केही थाहा नभएको बताएका छन्। वरिष्ठ नेता पौडेल शुक्रबारै माइतीघरमा आन्दोलनरत उखु किसानलाई साथ दिन पुगेका थिए। उक्त आन्दोलनमा साथ दिएर निस्किएका पौडेल र पेरिसडाँडाबाट निस्किएका नेकपाका दुई नेताबीचको भेटवार्ता स्थलबारे केही खुलेको छैन।

दुई नेताले पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष र सचिवहरुमाझ बोल्दै ओलीले मनपरी गर्दै गएकाले उनलाई नियन्त्रण गरेरै छाड्ने बताएका थिए। दुवै नेताले पार्टी विभाजन हुन नदिन आफूहरु सचेत रहेको बताउँदै तर ओलीलाई सच्याएरै छाड्ने अडान राखेका थिए। दुवै नेताले ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने चेतावनी पनि दिएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *