बुद्ध एयरको चरम लापरवाही,जनकपुरका लागि उडेका यात्रुलाई पोखरा

निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले चरम लापरवाही प्रदर्शन गरेको छ।

उसो त तोकिए भन्दा निकै ढिला उडान भर्दै आएको आरोप बुद्ध एयर माथि लाग्दै आएको छ।

शुक्रबार उक्त एयरले जनकपुरका लागि उडेका यात्रुलाई पोखरा पुर्याएपछि यात्रुहरूले निकै हैरानी बेहोर्नुपर्यो।

हतारको कामले सोही विमानमा नेकपा केन्द्रीय सदस्य डाचाराज वाग्ले पनि जनकपुर जान लागेका थिए। विमानमा चढेका सबै यात्रु जनकपुरका थिए।

निर्धारित समयभन्दा निकै ढिलो उडेको उक्त विमान जनकपुर आइपुग्यो भन्दै पोखरा पुर्याइएपछि यात्रुहरु आश्चर्यचकित भएका थिए।

‘२ बजे उड्ने भनेको ३:१५ मा उड्यो। एयर होस्टेजले एनाउन्समेन्ट गर्दै जनकपुर आईपुग्यौं भनेपछि बाहिर हेर्दा पोखरा पुगेका रहेछौं।’ नेता वाग्लेले दैनिक अनलाइनसँग भने, ‘यो त बुद्ध एयरको हद लापरवाही भयो।’

पोखरामा आधा घण्टा रोकिएपछि त्यसपछि विमान जनकपुरका लागि उडेको थियो। विमानले जनकपुरमा सफल अवतरण गरेको छ।

जनकपुरमा दिउसै पुग्नुपर्ने विमान साँझ ५ बजेमात्रै पुगेको हो।

किन यहाँ ल्याइयो भन्नेबारे एयरहोस्टेजसँग बुझ्न खोज्दा ‘तेल हाल्नका लागि ल्याइएको हो’ भन्ने अनौठो जवाफ दिएको यात्रुहरूले बताएका छन्।

सामान्यतयाः आकासमा कुनै प्राविधिक गडबडी भएमा, मोसमी खराबीका कारण आकस्मिक अवतरण गर्नुपर्ने हुनसक्छ। तर, आज त्यस्तो कुनै अवस्था थिएन।

के कति कारणले यस्तो गडबडी हुन पुग्यो भन्नेबारे बुद्ध एयरले यसमा कुनै प्रतिक्रिया दिएको छैन।

बुद्ध एयरले यसबारे औपचारिक रुपमा केही नबताएपनि उक्त जहाज पोखराका लागि तय भएको र त्यसमा जनकपुरका यात्रु राखिएपछि यस्तो समस्या आएको बताइएको छ। यसमा पाइलट र चालक दलको कमजोरी नहुनसक्ने विमानस्थल स्रोत बताउँछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *