बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादको राप बुधबार बसेको स्थायी कमिटी बैठकपछि केही मत्थर भएको देखिएको छ।

पार्टीलाई संकटमा पुर्‍याएको अध्यादेश र अध्यक्ष दाहाल पक्षले संसदको विशेष अधिवेशन माग गर्दै संकलन गरेको हस्ताक्षर फिर्ता गर्ने सहमति बनेपछि विवाद अर्कैतिर मोडिएको छ। यद्यपी, ओली-प्रचण्डबीचको आन्तरिक किचलो ज्यूँ का त्यूँ छ।

प्रधानमन्त्री ओलीले विवाद अन्यत्र मोड्न उपाध्यक्ष वामदेव गौतमको नाममा फेरि आश्वासनको नयाँ पत्ता फ्याँकेका छन्‌। ​स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन्। गौतम नेकपा विवादमा पटक-पटक चर्चामा आइरहन्छन्‌।

​एकपटक प्रधानमन्त्री भइसकेका भन्दा अवसर नपाएका उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउँदा हुने कुरा ओलीले बैठकमा राखेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

‘एकपटक भइसकेको भन्दा हालसम्म नभएको साथीहरू हुँदा राम्रो हुने उहाँले बताउनुभएको हो,’ पौडेलले भने, ‘पार्टीको विधि, पद्धतिको विषयमा अब कसरी हुन्छ भन्‍ने कुरा राख्नुभएको हो।’

प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको भएपनि तत्कालका लागि सम्भव नभएको उनको तर्क छ। ‘उहाँले उपाध्यक्ष गौतमलाई लक्षित गर्दै प्रधानमन्त्री बनाउने कुरा राख्नुभएको छ। तर, अहिले तत्कालका लागि भन्‍नुभएको होइन र सम्भव पनि छैन,’ उनले भने, ‘अबको प्रतिनिधि सभाको निर्वाचनअघि त्यो सम्भव छैन।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *