बनले काटेका काठ अलपत्र भारतबाट ४० करोडको काठ भित्रियो

संघीय सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा लगाएको रोक फिर्ता नलिँदा विदेशबाट काठको आयात हुने परिमाण बढ्न थालेको छ।

भारत, मलेसिया र थाइल्यान्ड लगायतबाट नेपालमा काठको आयात भइरहेको छ।

चालु आर्थिक वर्षको ७ महिनामा विराटनगर नाकाबाट ४० करोड मूल्यको काठ आयात भइसकेको विराटनगर भन्सारले जनाएको छ।

स्वदेशकै जंगल विनास नहुनेगरी काठ निकाल्न सकिने अवस्था बनेका बेला सरकारले सालका काठ निकाल्न नपाइने निर्णय गरेको छ। यसै कारण ठूलो मात्रामा विदेशबाट काठको आयात भइरहेको हो।

सरकारले जंगलबाट सखुवाका काठ निकाल्न रोक लगाएपछि काठको मूल्यवृद्धिसमेत भएको छ।

६ महिनाअघि विराटनगरको बजारमा प्रति क्युबिक फिट ४ हजार ८ सयका दरले पाइने सखुवा काठको मूल्य हाल ५ हजार ५ सय पुगिसकेको छ।

भारतका काठ बजारमा सालको काठको मूल्य प्रति क्युबिक २ हजारदेखि २ हजार ८ सय र बंगलादेशमा २ हजार ५ सय रहेको जानकारले बताएका छन्।

मोरङका प्रमुख वन अधिकृत अनिरुद्रकुमार शाहका अनुसार अन्य मुलुकका तुलनामा नेपालको सालको काठको गुणस्तर राम्रो, बलियो र टिकाउ छ। त्यसैले काठका अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू गुणस्तरका लागि नेपालको काठलाई रोज्छन्। यसका कारण नेपालको काठ महँगो भएको हो।

जिल्ला वन कार्यालय मोरङका अनुसार गत जेठ १५ गतेसम्म मोरङको जंगलमा वार्षिक कार्ययोजना अन्तर्गत कटान भएका ८० हजार क्युबिक फुटभन्दा बढी सालका काठ संकलन गरिएको छैन।

सरकारले जंगलभित्रका सालका काठ संकलन र घाटगद्दी गर्न रोक लगाएका कारण संकलन हुन नसकेको हो।

सरकारी निर्णयका कारण काठको आन्तरिक उत्पादन ठप्प छ। यसले बजारमा काठको माग र जंगलमा चोरी तस्करीको चाप एकैचोटी बढेको छ। लामो अवधिसम्म एकनास रहेको काठको मूल्य अभावकै कारण आकासिएको व्यवसायीले बताएका छन्।

जानकारहरू भन्छन्, ‘नेपालको काठ दक्षिण एशियाकै तुलनामा महँगो छ। पर्याप्त वनस्रोत त छ तर कुशल व्यवस्थापन र प्रयोगको अभाव छ। त्यसैले नेपालमा योजनाबद्ध रूपमा काठको उत्पादन हुन सक्तैन। मूल्य नियन्त्रण नहुने कारण यही हो।’

अधिकांश नेपाली घरका झ्यालढोकामा काठकै प्रयोग रुचाउँछन्। त्यसैले यहाँ काठको माग धेरै छ।

वन अधिकारीहरूले दिएको सूचनाअनुसार जंगलमा ढलापडा रुखहरू छाँट्ने काम भइरहेका बेला गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयले रुख कटानमा अकस्मात् रोक लगाएको थियो।

सरकारको निर्णयमा कटान रोक्नेमात्र नभई काटिएका काठ संकलन गर्ने र घाटगद्दी गर्न ल्याउनसमेत रोक लगाइएको छ। सरकारले जेठ ३२ गते उक्त निर्णयमा परिमार्जन गर्दै सालका काठबाहेक अन्य कुकाठको संकलन र घाटगद्दी गर्न फुकुवा गरेको थियो। तर असारदेखि बर्खा लागेको हुँदा वन कर्मचारी र प्राविधिकहरू जंगलभित्र पस्न सकेनन्। काटिएका र लडेका काठ जंगलमै अलपत्र परे।

जिल्ला वन प्रमुख शाहका अनुसार कार्यालयले कात्तिक लागेपछि मात्रै ३५ हजार क्युबिक फुट कुकाठका काठ–दाउरा घाटगद्दी गर्न सक्यो। तर ४ पटकसम्म ठेक्काको सूचना प्रकाशित गर्दा पनि खरिदकर्ताहरू आएका छैनन्। कुकाठका मात्र काठ-दाउरा भएको र सालका काठ-दाउरा नभएका कारण खरिदकर्ताहरू आकर्षित नभएका हुन्।

‘कात्तिकपछि घाटगद्दी गरिएका काठको गुणस्तर केही खस्केकोजस्तो भएको छ,’ शाहको भनाइ थियो, ‘किनकि कुकाठ र कमसल प्रजातिको काठलाई बर्खामा त्यत्तिकै छाड्दा कुहिने र बिग्रने हुन्छ। यस पटक बर्खाभरि काठ त्यत्तिकै छाडेर राख्नुपर्‍यो।’

त्यस्तै सालको रुख कटान गरिसकेपछि वा लडेपछि लामो समय बोक्रासहित छाडियो भने त्यसमा किरा लाग्छ र काठको गुणस्तर बिग्रन्छ। यसबाट काठको मूल्य घट्न गई नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ।

शाहको कथन थियो, ‘व्यवसायीहरू कुकाठ र कमजोर प्रजातिका काठमात्र खरिद गरेर लैजाँदैनन्। अर्कातिर सरकारले सालको काठको बिक्री खुला गरेको छैन।’

सरकारले सालका काठको उत्पादनमा रोक लगाएका कारण घर बनाउने, मर्मत गर्ने र आगलागीपीडित नागरिकले समेतले सहुलियत दरमा काठ पाउन सकिरहेका छैनन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *