चर्चित फुटबलर डिएगो म्याराडोनाको शव अहिल्यै नगाड्न अर्जेन्टिनी एक अदालतले आदेश दिएको छ।
अनुसन्धानका लागि आवश्यक हुन सक्ने भन्दै म्याराडोनाको शव सुरक्षित राख्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव गाड्न रोक लगाएको हो।
६० वर्षीय म्याराडोनाको गत महिना हृदयघातका कारण निधन भएको थियो।
२५ वर्षीया मगाली गिल नामकी युवतीले म्याराडोना आफ्ना पिता भएको दाबी गर्दै मुद्दा हालेकी छन्। सोही मामिलामा अदालतले डीएनए परीक्षण गर्न चाहेको बताइएको छ।
विवाहपछि म्याराडोनाका दुई छोरी भएका छन्। तर डिभोर्स पछि उनले आफू अरू ६ बच्चाको बाबु भएको स्वीकार गरेका थिए। एजेन्सी