लेवान्डोस्कीले जिते ‘द बेस्ट’ अवार्ड, उत्कृष्ट गोलकर्ता सन ह्युङ मिन

एजेन्सी, ३ पुष । यस वर्षकाे उत्कृष्ट खेलाडीकाे अवार्ड रोबर्ट लेवान्डोस्कीले पाएकाे छन् । उनले लियाेनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ‘द बेस्ट’ अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक वर्ष ‘दी बेस्ट’को घोषणा गर्दै आएको छ । फिफाले यो वर्ष कोरोना भाइरसको महामारीका कारण बालोन डी’ओर अवार्ड नगर्ने भएको छ । फिफाले वर्षको उत्कृष्ट खेलाडी घोषणा मात्र गर्ने भएको हो ।

लेवान्डोस्कीले वायर्नलाई गएको सिजन च्याम्पियन्स लिगको उपाधि र जर्मन बुन्डेस लिगाको उपाधि दिलाएका थिए । लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए । कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो । यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्टसलाई इटालियन लिगको उपाधि दिलाएका थिए ।

प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते भने द बेस्ट गोलरक्षक जर्मन कप्तान म्यानुएल नोएर चुनिए । फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन् । उनले गत सिजन बर्नलीविरुद्ध प्रिमियर लिगमा गरेको गोलले अवार्ड जितेको हो । हाल एटलेटिको म्याड्रिडमा खेलिरहेका लुइस सुआरेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता मनोनयनमा रहेका थिए ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन् । डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीन मनोनयनमा परेका थिए । महिलातर्फ प्रशिक्षकमा नेदरल्यान्डकी सारिना विग्मन द बेस्टको उपाधि जित्न सफल रहिन् । उनले चेल्सीकी एम्मा हेअस र लियोनका जेन भासेरलाई मनोनयनमा पछि पारेकी हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *