भारतको मुजफ्फरनगरमा एक सानोे बालक फूटपाथमा कुकुर च्यापेर सुतेको कारुणिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कठ्यांग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कुकुरसँग सुतेको देखिन्छ ।
अंकित नामक ती बालक ड्यानी नामक कुकुरको सहारामा बाँचिरहेका छन् । तस्वीर भाइरल भएपछि प्रहरी प्रशासनको मन पनि पग्लेको छ । जम्मा १० वर्षको यस बालकका पिता कारागारमा छन् र आमाले उसलाई छोडेर गएकी छन् ।
उसले आफ्नो परिवारमा आमा र बुवा बाहेक अरू कसैलाई चिनेको छैन । बिहान उठेर चियापसलमा कप र प्लेट माझ्ने चिसो रातमा फूटपाथमा सुत्ने उसको नियति बनेको छ । कुकुरले अंकितको देखभाल गर्ने गरेको छ । प्रहरीले बालकलाई न्यानो कपडा र जुत्ता उपलब्ध गराएको छ । अनि बच्चालाई रेखदेख पनि गर्ने बताएको छ । बालकलाई अहिले एक विद्यालयमा भर्ना गरिएको छ । प्रहरीले बालककी आमालाई पनि खोजी गरिरहेको छ ।