नेपालीहरूको प्रतिव्यक्ति आय कति?? महिला र पुरुषबीच ठूलो आयगत विभेद

हालैका वर्षहरूमा नेपालीहरूको प्रतिव्यक्ति आयमा वृद्धि भएको विभिन्न अध्ययनहरूले देखाए पनि वास्तविक आय कति हो भन्ने अझै अन्योल छ । प्रतिव्यक्ति आय निकाल्नका लागि हालसम्म प्रचलित विधिहरूमा कुल राष्ट्रिय आयलाई समग्र जनसंख्याले भाग गरेर निकालिने राष्ट्रिय औसत र घरपरिवार सर्वेक्षण विधिबाट संकलित खर्चयोग्य आयको औसत गणना विधि हो ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रूपमा तयार पारेको नेपाल मानव विकास प्रतिवेदन-२०२० ले क्रयशक्ति समता (पीपीपी)मा आधारित आय २ हजार ७४८ अमेरिकी डलर पुगेको विवरण सार्वजनिक गर्‍यो । त्यसको दुई दिन नबित्दै यूएनडीपीले नै सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनले पीपीपी मूल्यमै प्रतिव्यक्ति आय ३ हजार ४५७ डलर पुगेको बताएपछि तथ्यांकीय अन्योल बढेको छ ।

राष्ट्रिय लेखा तथ्यांकअनुसार भने नेपालीहरूको औसत प्रतिव्यक्ति आय १०३५ अमेरिकी डलरको हाराहारीमा छ । नेपाल मानव विकास प्रतिवेदन र विश्वव्यापी मानव विकास प्रतिवेदनले क्रयशक्ति समतामा आधारित गणनाका लागि फरक-फरक आधार वर्ष लिएकाले प्रतिव्यक्ति आय पनि फरक देखिएको हो ।

नेपालले सन् २०११ लाई आधार वर्ष मानेर खर्चयोग्य प्रतिव्यक्ति आय (पीपीपी) २ हजार ७४८ अमेरिकी डलर पुगेको बताएको हो भने विश्वव्यापी मानव विकास प्रतिवेदनले सन् २०१७ को आधार वर्ष लिएर प्रतिव्यक्ति आय ३ हजार ४५७ डलर पुगेको उल्लेख गरेको हो ।

आधार वर्ष फरक पर्नेवित्तीकै नेपाली अर्थतन्त्रको समग्र आकार पनि बढेको देखिइँदा प्रतिव्यक्ति आय पनि बढेको देखिएको हो ।

‘वास्तविक रूपमा नेपालीहरूको प्रतिव्यक्ति आयको आकार नै बढेको नभइ मूल्यको आधार परिवर्तन भएको हुनाले मात्र यो भिन्नता देखिएको हो, यदि यसलाई २०११ आधार वर्षमा ढाल्ने हो भने वास्तविक आय २ हजार ७४८ कै हाराहारीमा कायम हुन्छ,’ नेपाल मानव विकास प्रतिवेदन तयारीमा योगदानकर्ता समेत रहेका तथ्यांकीय अर्थशास्त्री डा. रुद्र सुवालले भने ।

यूएनडीपीले विश्व बैंकले प्रयोग गर्ने ‘एटलस मेथड’मा आधारित रहेर विश्वव्यापी रूपमा प्रत्येक मुलुकको क्रयशक्ति सामर्थ्यमा आधारित रही पीपीपी (पर्चेजिङ पावर प्यारिटी) मूल्यमा आधारित तथ्यांकलाई उपयोग गर्ने गर्छ ।

पीपीपी मूल्यमा सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ९७ अर्ब ७० करोड अमेरिकी डलर (११५ खर्ब रूपैयाँभन्दा बढी) पुगेको देखिन्छ, जबकी स्थिर र वास्तविक मूल्यमा आधारित नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार ३१ अर्ब ४० करोड अमेरिकी डलर (करिब ३७ खर्ब रूपैयाँ) हाराहारीमात्रै छ ।

नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादन गणनाका लागि हालसम्म २०५८ लाई आधार वर्ष लिँदै आएकोमा अब २०६८ लाई आधार वर्ष मान्ने तयारी गरिरहेको छ । आधार वर्ष परिवर्तन गरिँदा अर्थतन्त्रको आकार १० देखि १५ प्रतिशतसम्म बढ्ने भएकाले नेपालीहरूको प्रतिव्यक्ति आय पनि कम्तिमा १५०० अमेरिकी डलरको हाराहारीमा पुग्ने सक्ने देखिन्छ ।

महिला र पुरुषबीच ठूलो आयगत विभेद

नेपाल मानव विकास प्रतिवेदन-२०२० र विश्वव्यापी मानव विकास प्रतिवेदन-२०२० दुवैले नेपालका महिला र पुरुषबीच ठूलो प्रतिव्यक्ति आयगत विभेद कायम रहेको देखाएका छन् । नेपाल मानव विकास प्रतिवेदन-२०२०अनुसार पुरुषको क्रयशक्ति सामर्थ्यमा आधारित प्रतिव्यक्ति आय ३ हजार ७२९ अमेरिकी डलर हुँदा महिलाको प्रतिव्यक्ति आय केबल १ हजार ८२४ अमेरिकी डलरमात्रै भएको देखाएको छ । यो सन् २०११ को आधार वर्ष लिएर तयार पारिएको तथ्यांक हो ।

विश्वव्यापी मानव विकास प्रतिवेदनले पुरुषको प्रतिव्यक्ति आय ४ हजार १०८ अमेरिकी डलर हुँदा महिलाको प्रतिव्यक्ति आय २ हजार ९१० डलरमात्र भएको देखाएको छ । यो सन् २०१७ लाई आधार वर्ष लिइ तयार पारिएको तथ्यांक हो ।

नेपालमा आय असमानता बढ्दै गएसँगै असमानता मापन गरिने गिनी सूचक पनि फराकिलो हुँदै गएको मानव विकास प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार हाल नेपालको गिनी सूचक ३२.८ छ, जुन सन् २००३/४ मा ४३.८ थियो । गिनी सूचकको जति कम हुँदै गयो, उति असमानता फराकिलो हुँदै गएको संकेत गर्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *