स्टार रोनाल्डोको पेनाल्टी मिस भएपछि युभेन्टसले आफ्नै मैदानमा अटलान्टासँग १–१ गोलको बराबरी खेल्यो

इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसले आफ्नै मैदानमा अटलान्टासँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँड्यो ।

खेल एक–एक गोलको अवस्थामा रहँदा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो चुकेपछि घरेलु टोली अङ्क बाँड्न बाध्य भयो ।

खेलको ६१औं मिनेटमा रोनाल्डोले गरेको प्रहार अटलान्टाका गोलरक्षक पिर्लुइगी गोलिनीले सहजै रोकिदिए ।

पेनाल्टी ‘मिस’ हुँदा रोनाल्डोकै कारण जित्नबाट बञ्चित भएको भन्दै उनको आलोचना भइरहेको छ । यस्तैमा युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले भने रोनाल्डोको बचाउ गरेका छन् ।

‘यो सहज खेल थिएन तर रोनाल्डोले राम्रो खेले’, खेलपछि पत्रकारसँग बोल्दै पिर्लोले भने, ‘यदि, उनले पेनाल्टीमा गोल गर्थे भने युभेन्टसका लागि केही न्याय हुन्थ्यो, नतिजा परिवर्तन हुन्थ्यो । उनी एक च्याम्पियन हुन्, च्याम्पियन्सले कहिलेकाँही पेनाल्टी पनि मिस गर्छन् ।’

टुरिनमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । खेलको २९औं मिनेटमा फेडेरिको चिसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा रेमो फ्रेयुलरले गोल गर्दै अटलान्टालाई बराबरीमा फर्काए ।

बराबरीसँगै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट २४ अङ्क बनाएको छ । अटलान्टा भने १८ अङ्कका साथ आठौं स्थानमा छ । उसले युभेन्टसभन्दा एक खेल कम खेलेको छ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *