‘तरकारी, खसी र पैसाले नपुगेपछि शिक्षक श्रेष्ठको हत्या’

मिक्लाजुङ – मोरङको मिक्लाजुङ– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठ स्थानीय बुद्धीजीवीका रुपमा सम्मानित थिए। सजिलो–अप्ठ्यारोमा गाउँलेलाई सल्लाह र आड भरोषा दिने उनै थिए। ५४ वर्षीय श्रेष्ठको गत मंगलबार विहान नेत्र विक्रम चन्द समूहले अपहरणपछि जंगलमा घाँटी रेटेर हत्या गर्‍यो।

श्रेष्ठको गाउँ बर्खेमा १२ घर छन्। बाख्रापालन समेत गर्ने शिक्षक राजेन्द्र श्रेष्ठसँग कहिले चन्दा, कहिले तरकारी र खसीसम्म माग्न चन्दका कार्यकर्ता आइरहन्थे। गएको वैशाख महिनामा छिमेकी लक्ष्मण श्रेष्ठको खेतमा पर्म गरिरहेका राजेन्द्रको फोन बज्यो। फोन गर्ने चन्द समूहका कार्यकर्ताले १० हजार रुपैयाँ मागे। तर, राजेन्द्रले पाँच हजार मात्र दिनसक्ने बताएपछि रकम लिनेहरु आएनन्।

फेरि असारमा चन्दका कार्यकर्ताले १ लाख ५० हजार रुपैयाँ चन्दा मागेको राजेन्द्रले लक्ष्मणलाई सुनाएका थिए। लक्ष्मण भन्छन्, ‘राजेन्द्र सरलाई चन्दा मागेर पनि हैरान गरेका थिए ।’
हत्या गरिएको तीन दिन अघिदेखि चन्दका कार्यकर्ताले राजेन्द्रलाई पछ्याईरहेका थिए । घरबाट ५ सय मिटर टाढा रहेको बाख्रा गोठमा गयो उतै भेट हुने, घरमा आयो उनीहरु घरमै पुग्ने गरिरहेका थिए।

मंसिर २० गते शनिबारका दिन राजेन्द्रले गाउँका अर्का शिक्षक एवम् छिमेकी मदन श्रेष्ठसँग चन्दका कार्यकर्ताले दुख दिन थालेको बताएपछि मदनले उनलाई मिक्लाजुङ २ मा बस्ने छोरा छत्रहादुरसँग केही दिन बस्न सुझाव दिएका थिए। तर, आफूले केही नबिराएको, घरमा गाई ब्याउने बेला भएको आदि कारणले उनी छोराकहाँ जान मानेनन्। यद्यपि, घटनाको एक दिनअघि सोमबार साँझ उनले मदन श्रेष्ठलाई भनेका थिए ‘राती मोवाईल अफ नगर्नु, केही परे कल गर्छु।’

राति फोन आएन, मंगलबार विहान राजेन्द्र मदनको घरबाट रिचार्ज कार्ड लिएर बाख्रा गोठति लागे। श्रीमती बिहानै गोठ पुगिसकेकी थिईन। गोठमा राजेन्द्रकी श्रीमती धनकुमारीलाई मात्र देखेपछि फर्कंदै गरेका चन्दका कार्यकर्तासँग बाटैमा राजेन्द्रको जम्काभेट भयो।

उनीहरुले राजेन्द्रलाई घरै फर्काए। घरमा पुगेपछि राजेन्द्रका हात डोरीले बाँधेर जंगलतर्फ हिंडाएको देखिजान्ने गोविन्द श्रेष्ठ बताउँछन्। त्यसबेला राजेन्द्रले गोविन्दसँग भनेका थिए, ‘माल्दाई मलाई साथीहरुले लगे, कहाँ लग्छन् थाहा भएन ।’ राजेन्द्रको छिमेकीसँगको त्यो अन्तिम संवाद थियो।

गोविन्दका अनुसार चार जना नकाबधारी र दुई जना मास्क मात्र लगाएका मानिसहरु राजेन्द्रलाई डोर्‍याउँदै थिए। उनले उक्त समूहलाई, ‘राजेन्द्रलाई किन लगेको, यतै बसेर कुरा गरौं न’ भने। तर, समूहको एक नकाबधारीले, ‘बढी बोल्छस ? पुलिसलाई भनिस भने तेरो पनि यही हालत हुन्छ,’ भनेपछि उनी चुप लागे। त्यसपछि गोविन्द गाउँलेलाई खबर गर्न गए।

राजेन्द्रकी श्रीमती धनकुमारी बाख्रा गोठमै थिईन । उनलाई खबर गर्न स्थानीय अञ्जु श्रेष्ठ गइन्। छिमेकी मदन श्रेष्ठ सहित ५–६ जना तुरुन्तै जुटे र राजेन्द्रलाई अपहरण गरी लगिएको बाटो पछ्याउँदै गए। शीतमा पाइलाका डोब प्रष्टै देखिन्थे, त्यही पछ्याउँदै जाँदा जंगलमा राजेन्द्रको शव हत्या गरिएको अवस्थामा भेटियो। उनीहरुले मान्छे भागेको, रुखका पात बजेको सुने। मदन श्रेष्ठ भन्छन्, ‘त्यसपछि पिछा गर्न सकेनौं।’

अब बर्खे फर्किन्नँ
राजेन्द्रकुमार श्रेष्ठकी श्रीमती पतिको हत्यापछि मिक्लाजुङ– २ मा छोराकहाँ बसेर किरिया गर्दै छिन्। अब आफ्नो गाउँ बर्खे फर्कने आँट नभएको उनी बताउँछिन्। अब ‘छोरा र नातिको मुख हेरर बस्छु,’ उनले भनिन्।

वर्षौंदेखि बर्खेमा बस्दै आएको श्रेष्ठ परिवारले गाउँ छाडेपछि उनका छिमेकीहरु चिन्तित् छन्। घटनापछि गाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ। मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य भन्छन्, नजिकै रमितेमा इलाका प्रहरी कार्यालय राख्नेबारे पनि कुरा भइरहेको छ।

गत माघमा नेत्रविक्रम चन्दका कार्यकर्ताले मिक्लाजुङको रमितेमा सडक निर्माणमा प्रयोग गरिएको तीनवटा एक्सकाभेटरमा आगो लगाएका थिए। जसका कारण लामो समय सडक निर्माण कार्य रोकियो। यसपाली त उनीहरु व्यक्तिहत्याकै तहमा उत्रिए।

तत्कालीन माओवादीको १० वर्षे हिंसाका बेला पनि बढी जसो शिक्षकहरु नै निसानामा पर्ने गरेका थिए। फेरि व्यक्ति हत्याको पुरानो नृशंश शृंखला दोहोरिन लागेको त होइन भनेर स्थानीयवासिन्दा चिन्तित् छन्। nepalsamaya.com बाट

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *