‘रानीजस्तै राख्छु भन्थे श्रीमानले, अहिले घरै नआइज भन्छन्’

हातमा किताब, कापी र कलम हुनुपर्ने उमेरमा कैलालीकी (नाम परिवर्तन) पवित्रा कठरियाका काखमा छोराछोरी हुर्किंदै छन्। जोशीपुरकी २२ वर्षीया उनले १६ वर्षको कलिलै उमेरमा बिहे गरिन्। भागेर बिहे गरेकी उनले डेढ वर्षको फरकमा दुई सन्तान जन्माइन्।

छ वर्षअगाडि पवित्रा गाउँकै स्कुलमा कक्षा ९ मा पढ्थिन्। उनको गाउँमा घुम्न आउने उनीभन्दा पाँच वर्ष जेठो केटाले उनलाई निकै फुर्क्याउँथे। ‘तिम्रो स्याउजस्तै गाला छ, आफ्नो घर लगेर तिमीलाई रानीजस्तै राख्ने हुँ। नाकमा पाँच रुपैयाँको फुली नलगाऊ, म सुनको नत्थी किनिदिन्छु भने,’ उनले रुँदै भनिन्, ‘यसरी नजिक बनाएपछि म सँगै सुत्यो पनि।’

शारीरिक सम्पर्क भएपछि ती युवाले वास्ता गरेनन्। पवित्रा उनको घरमै गएर धर्ना दिन थालिन्। बल्लबल्ल घरपरिवार र ती युवकले बिहे गरे। पवित्राले अधिकार त पाइन्। तर यो वैवाहिक सम्बन्धमा अहिले उतारचढाव छ। घरमा पवित्रालाई हेलोहोचो छ।

श्रीमानले अर्को बिहे त गरेका छैनन्। तर ‘गरिबकी छोरी, दाइजो नल्याएको’ भन्दै अवहेलना र हिंसाजन्य कार्य गर्छन्। ‘सुकुम्बासीकी छोरी, दाइजो नल्याएको’ भनेर कराउने गरेको पनि उनले बताइन्। यी सबै सहन नसकेपछि उनी डेढ महिनादेखि माइतै बस्न थालेकी छन्।

६ वर्ष श्रीमानकै घर बसेकी उनको विवाह दर्ता, नागरिकता र छोराछोरीको जन्मदर्ता बनेको छैन। उनी १७ वर्षकै हुँदा पहिलो सन्तानको जन्म भएको थियो। अर्को बच्चा नजन्माउन डिपोप्रोभेरा प्रयोग गरेकी थिइन्।

‘डिपो लगाउँदा पनि खै कसरी गर्भ रह्यो! श्रीमानले बच्चा बसेको थाहा पाइनस् भन्दै पिट्न थाले,’ उनले भनिन्। स्वास्थ्य जाँच गराउँदा पाठेघरमा घाउ देखिएको छ। शारीरिक सम्बन्ध गर्दा दुख्ने गरेको उनले बताइन्। ‘मलाई शारीरिक सम्बन्ध राख्दा दुख्छ। अनि उनले किन बिहे गरिस्, आफ्नो शरीर सम्हाल्न सक्दिनस् भन्छन्,’ उनी दुखेसो पोख्छिन्।

यस्तै कुरामा श्रीमानले रक्सी पिएर खुब पिट्ने गरेको उनले सुनाइन्। ‘केटाकेटी स्कुल जाने भइसके। तिमी यस्तो किन गर्छौ? भनेपछि म मात्र काम गरेर बुढो भइहालुँला, तँ रानीजस्तो बसेर खाने मात्र हो, बंगुरजस्तो यति मोटो भइसकिस् भन्छन्,’ उनले भनिन्, ‘आफू रात-दिन साथीहरूसँग घुम्छन्। सासू-ससुराले देख्नै सक्दैनन् मलाई। बच्चालाई पनि पिट्छन्।’

मीठो तरकारी भएन भनेर गाली गर्छन् उनलाई। छोरी डेढ वर्षदेखि मामाघरकी हजुरआमासँगै बस्दैछिन्। छोरीको दुःख देखेर पवित्राकी आमाले नातिनीलाई आफैंसँग राखेकी हुन्। सासू र घरपरिवारका अन्यले ‘अलच्छिना, तैं झगडालु छेस्’ भन्छन् उनलाई।

घरमा पाहुना आउँदा मासु ल्याए पनि आफ्ना आमाबुवा आउँदा बेवास्ता गर्छन् रे, ‘आफूहरू साबुनले लुगा धुन्छन्। म सँग पैसा नभएर त्यसै धुन्छु।’ उनले आफूमाथि परेको समस्याबारे आफ्ना आमाबुबालाई मात्र भनेकी छन्। वडाअध्यक्ष, स्थानीय तहको न्यायिक समितिमा उजुरी गरेकी छैनन्।

‘अन्त भनेकी छैन। छोराको पोहोरको स्कुल शुल्क पनि तिर्न बाँकी छ। यस वर्ष स्कुल पठाएकी छैन,’ उनले भनिन्। अहिले उनी दैनिक पैसा पाउने गरी मजदुरी गर्छिन्। काम गर्न इँटाभट्टामा गए पनि श्रीमानले ‘उतै बस किन आइस्’ भन्ने गरेको बताइन्। उनी भने आफैं केही गरिखान सक्छु भन्ने सोचमा पुगेकी छन्, ‘उसको माया त लाग्छ। तर के गरूँ, उसको व्यवहारले सँगै बस्न मन छैन।’

बालविवाह गरेर आफू समस्यामा परेको उनले बताइन्। ‘१५-१६ वर्षकै उमेरमा केही अक्कल हुँदैन। उनले फकाए, फुलाए,’ उनले भनिन्, ‘बिहेपछि भने किन आइस्, मैले त टाइमपास सोचेको थिएँ, जा भन्छन्। अब हामी कहाँ जाने? केटाकेटी पनि भइसके,’ उनले भनिन्।

आफ्नो श्रीमानले घुम्ने, ऐस-आराम खोज्ने तर श्रीमतीले लाउन-खान नपाए पनि मतलब नराख्ने गरेको उनले बताइन्। यी घटनाक्रमले उमेर पुगेर सोचविचार गरी बिहे गर्नु राम्रो रहेछ भन्ने उनलाई सिकाएको छ। ‘१६ वर्षमै बिहे गरेर म त खुबै पछुताउँदैछु,’ उनले भनिन्।

केही दिनअगाडि उनका श्रीमान माइतीमै आएका थिए। यसबेला आफ्नो छोरा दिएर छोरी लगेर जा भनेको उनले बताइन्। ‘मलाई लैजाने त कुरै गर्दैनन्। बरु तँ दाँत नमिलेकी, तँभन्दा राम्री केटीको लाइन लगाउन सक्छु भन्छन्,’ उनले भनिन्। जोशीपुर गाउँपालिकामा बालविवाह गर्ने उनीमात्र हैन। हरेक घरजसोमा बालविवाहपीडित छन्। बालविवाहले समाजलाई नै नकारात्मक असर पार्न थालेको पीडितहरू बताउँछन्।

त्यहाँको सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक काशिराम विश्वकर्माले आफ्नो स्कुलमा पनि पढ्ने उमेरका धेरै केटाकेटी बिहे गरेर जाने गरेको बताए। बालविवाह गरेकामध्ये ९० प्रतिशतले पढाइ पनि छोड्ने गरेको बताए।

‘बालविवाह गरेका परिवारमा बहुविवाह र महिला हिंसा निकै धेरै छ,’ उनले भने। नेपालको कानुनले २० वर्ष नपुगी हुने विवाहलाई दण्डनीय अपराध माने पनि बालविवाह बढिरहेको विश्वकर्माले बताए।

गाउँपालिकाकी उपाध्यक्ष गीता कठरियाले बालविवाह हटाउन वर्षमा एकपटक किशोरीलक्षित जनचेतनामूलक कार्यक्रम गर्ने गरिएको बताइन्। बाँकी काम वडास्तरबाट हुनुपर्ने उनको भनाइ छ। गाउँपालिकाको प्रयासले बालविवाहले समाजमा पारेको प्रभाव घटाउन काम गर्न नसकेको त्यहाँका विद्यार्थी बताउँछन्।

सुदूरपश्चिम प्रदेश सरकारले बालविवाह न्यूनीकरणकै लागि भनेर बजेट पनि छुट्याउँछ। नेपाल सरकारले आगामी १० वर्षमा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ। कैलालीको हरेक स्थानीय तहमा बालविवाह हुने गरेको अभियानकर्मीहरु बताउँछन्। गौरीगंगाकी बासु सुनारले हरेक बालविवाह हुने गरे पनि उजुरी लिन कसैले नमानेको बताइन्। पछिल्लो एक वर्षमा जिल्ला प्रहरी कार्यालय कैलालीमा बालविवाह सम्बन्धी दुई मुद्दा मात्र दर्ता भएका छन्। सेतोपाटीबाट

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *