उखु किसान भन्छन, ‘सातवर्ष भयो चारलाख लिन बाँकी, ऋण थपिदैछ’

काठमाडौं । चिनी उद्योगले खरिद गरेको उखुको भुक्तानी नदिएपछि यतिबेला उखु किसानहरु काठमाडौंको माइतीघरमा धर्ना दिइरहेका छन् । सर्लाही रामनगर गाउँपालिका–१ का वयोवृद्ध किसान गगनदेव यादव पनि त्यहीँ भेटिए ।

उमेरले ७० वर्षका उनको छातीमा पोस्टर झुण्ड्याएर चिसो सडकमा पलेँटी कसेर बसेकाछन् । अन्नपूर्ण सुगर मिलले खरिद गरेको उखुको भुक्तानी नपाएपछि सरकारले पहल गरिदेओस् भनी आन्दोलनमा आएको उनले सुनाए । उनले सर्लाहीमा दुई बिगाहा जमिनमा उखु खेती लगाउँदै आएका छन् ।

नगद आम्दानीको एक मात्र स्रोत यही उखु खेती भएको बताउँदै उनले भने, ‘चार लाख रुपियाँ लिन बाँकी छ । २०७० सालदेखिको आज दिन्छु, भोलि दिन्छु भन्ने भाका कुर्दा कुर्दै यत्रो समय बित्यो । कहिले दशैँमा दिन्छु भन्छन्, छठमा दिन्छु भन्छन् । तर पैसा पाइनँ ।’

हामी उखु उधारोमा बेच्छौँ तर चिनी नगदमा बिक्री हुन्छ । हामीलाई आफ्नो उखुको मूल्य तिर्न किन यति आनाकानी ?’ उनले दुखेसो पोखे । २०७२ सालमा कृषि विकास बैंकबाट दस लाख रुपियाँ ऋण लिएको उनले सुनाए । उनले भने, ‘बैंकले सूचना निकालिरहन्छ । तिर्न नसके मेरो घरजग्गा नै लिलाम गर्छ ।’ गाउँमै पनि चिनी उद्योग हामीलाई कहिल्यै सुनेन । त्यसैले सरकारले हामीलाई आफ्ना उखुको मूल्य दिलाउन सहयोग गरोस् भनी बिन्ती गर्न यहाँ आएको हो ।’ उनले भने ।

दस जना नातिनातिनीलाई खुवाउने र पढाउने सबैको भर यही उखु खेती भएको यादवले बताए । ‘त्यही पैसा पनि समयमा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?’ उनले प्रश्न गरे ।

उखुको पैसा पाए सधैँ बर्खामा डुबिरहने बासलाई सुरक्षीत बनाउने उनको आशा छ । यादवले भने, ‘अझै मेरो घरअगाडि पानी छ । नातिनातिनीहरु पानीमा डुब्ला भन्ने ठूलो चिन्ता छ । पैसा आए बासको व्यवस्था पनि गर्न सकिन्थ्यो ।’

गाउँमा वडाध्यक्ष, सांसद, नेता सबैलाई भन्दा पनि समस्या समाधान नभएको उनको गुनासो छ । उखु किसानले पटक पटक गरेको आन्दोलनमा उनि काठमाडौँ आएका छन् । अब भने उधारो सहमति गरेर नजाने उनलगायत किसानको अडान छ ।

‘जति दिन लागोस्, म यहीँ बस्छु । भुक्तानी नलिई त घर फर्किन्नँ । आन्दोलन गरी पनि पैसा नलिई घर गए गाउँमा बेइज्जत हुन्छ मेरो ।’ उनले भने । उक्त समाचार आजकाे गाेरखापत्रमा छापिएकाे छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *