सबै अचम्मित भए, मैले कोरोनालाई जितेर बाँचें : चित्रबहादुर केसी

२ पुस, काठमाडौं । असोजको दोस्रो सातातिर ८१ वर्षीय चित्रबहादुर केसीलाई अनौंठोसँग छाती दुख्न थाल्यो । पाचन प्रणालीबाहेक कुनै पनि दीर्घकालीन स्वास्थ्य समस्या नभोगेका केसीलाई अचानक देखिएको नयाँ खाले दुखाइले एक्कासी झसंग बनायो । सुरुमा त बुढ्यौलीको ‘उपहार’ सम्झिएर दुखाइलाई सामान्यीकरण गरे । तर कोरोना महामारीको बेलामा एक/दुई दिनसम्म दुखाइ नरोकिएपछि भाइरोलोजिस्ट डा. शेरबहादुर पुनलाई टेलिफोन गरी उनले आफ्नो समस्या सुनाए । प्रत्यक्ष भेटघाट नभए पनि आफ्नै क्षेत्रका मान्छे भएकोले केसी र पुनको संवाद भइरहन्थ्यो । सबैकुरा सुनेपछि पुनले पनि दुखाइको कारण कोरोना हुने सम्भावना कम भएको बताए ।

‘डा. पुनले त्यति भनेपछि एक्कासी मनको तनाव कम भएर आयो । एउटा ठूलै राहतको महसुस भयो,’ केसी सम्झन्छन्, ‘डर नै नभएको भए त त्यति हतारिएर किन भाइरोलोजिस्ट कहाँ जान्थेँ र ? बरु पुनले एकपटक छातीको एक्सरे गर्न सुझाव दिए ।’

कोरोनाको महामारी नेपाल प्रवेश गरेसँगै केसीमा छुट्टै त्रासले गाँज्न थालेको थियो । ८ दशक पुगिसकेको जीर्ण शरीरलाई कोरोनाको आक्रमणबाट बचाउनको लागि उनले हदैसम्मको सतर्कता पनि अपनाएकै हुन् । दैनिक गुर्जाेपानी खान्थे, बेसार पानी पनि कहिलै टुटेको थिएन । बाहिर निस्कन पनि पछिल्लो केही समयदेखि चट्टै छाडेका थिए । ‘तर केही पनि लाग्दो रहेनछ,’ केसी अनुभव सुनाउँछन् ।

उनी पहिलेदेखि नै कोरोना मुक्त भएकाहरूको अनुभव आद्योपान्त सुन्ने गर्थे । पाइलट विजय लामाले कोरोना संक्रमित हुँदा भोगेको समस्या सुनेपछि उनीभित्रको डर झनै मडारिएर आएको थियो । उनले आफूलाईजस्तो छाती दुख्ने लक्षण कोरोनाको हो भन्ने सुनेका थिएनन् । तैपनि डा. पुनले भनेअनुसार छातीको एक्सरे गर्नको लागि भनेर केसी एपोलो अस्पतालमा गए ।

पहिले डा. पुनले ग्यास्ट्रिकका कारण छाती दुखेको हुन सक्ने बताएका थिए, छाती परीक्षणको रिपोर्टले पनि कुनै समस्या नदेखाएपछि ग्यास्ट्रिककै समस्या हुन सक्छ भन्नेमा सबै सहमत भए । कोरोना परीक्षणतिर कसैले चासो नै दिएनन् । यो असोजको तेस्रो साताको कुरा हो ।

‘म ढुक्क भएँ, सम्भावित गम्भीर समस्या तत्काललाई टरेको भान भयो, मन खुसी थियो,’ उनी भन्छन्, ‘काठमाडौंमा धेरै चिसो बढेको र कोरोनाको जोखिम पनि धेरै देखेर म असोज २२ गते काठमाडौंबाट भैरहवा झरेँ ।’ त्यसको एक महिनापछि कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका केसी अहिले पनि भैरहवामा नै रहेको छोरीको घरमा आराम गरेर बसिरहेका छन् ।

कोरोना पुष्टि भएको एक साताअघिदेखि नै पहिलेको तुलनामा धेरै भोक लाग्न थालेको केसी बताउँछन् । पाचन प्रणालीमा समस्या रहेका केसीलाई रहस्यमयी ढंगले कात्तिकको दोस्रो साता लागेको तीव्र भोकले राम्रो संकेत भने गरेको थिएन । उनी सुनाउँछन्, ‘परिवारका सदस्य नै अचम्मित हुने गरी मैले खाना खान थालेँ । त्यति धेरै खाना मैले उमेरमा पनि खाने गरेको थिइनँ । कोरोनाले त पाचन प्रणालीलाई बरु ठीक गरायो कि के हो, धेरै खाना पच्न थाल्यो ।’

काठमाडौंमा हुँदा छातीमा समस्या देखिएका केसीलाई भैरहवा पुग्दासम्म पनि निको भइसकेको थिएन । बरु उता गएपछि ज्वरोसमेत सुरु भयो । भैरहवा पुगेको केही दिनमा नै उनी बुटवलमा एक साथीको क्लिनिकमा उपचार गराउन पुगे ।

काठमाडौंबाट डा. पुनले दिएको सुझाव र क्लिनिकका चिकित्सकले समेत उनलाई ग्यास्ट्रिककै समस्या रहेको भन्दै औषधि खान सुझाव दिए । तर ग्यास्ट्रिकको औषधि खाएपछि उनमा समस्या झनै थपिन थाल्यो ।

कोरोना पोजिटिभ पाइएपछि मेडिसिटीमा उपचार गराउने क्रममा छातीको एक्सरे पनि गरिएको थियो । एक्सरेको क्रममा फोक्सोमा निमोनिया रहेकाले सतर्क रहन सुझाव त दिएका थिए, त्योभन्दा बढी चिकित्सकहरूले केही पनि नभनेको उनी बताउँछन्
‘मनमा डर थियो, बुढ्यौलीले छोएपछि पनि बाँच्न पाए हुन्थ्यो भन्ने त लाग्दो रहेछ नि । पहिले ज्वरो र छातीमात्र दुख्थ्यो, ग्यास्ट्रिकको औषधि खाएपछि झनै पखाला सुरु भयो । अँगार जस्तो कालो दिसा आउँथ्यो । आफैंलाई डर लाग्थ्यो । रातमा तीन र चारपटकसम्म दिसा लाग्थ्यो । मनमा के–के कुरा खेल्थ्यो । बाहिरबाट देख्दा सामान्य भए पनि बुढेसकालमा यसको समस्या भोग्न त निकै गाह्रो हुँदो रैछ,’ उनी सम्झन्छन् ।

पखालाको औषधि सकियो तर समस्या जस्ताको त्यस्तै थियो । कतै कोरोना नै त होइन भन्ने मनमा कुरा खेल्न थाल्यो । कोरोना सम्झिनेबित्तिकै विजय लामाको अनुभव दिमागमा खेल्न थाल्थ्यो । अनि फेरि सुरु हुन्थ्यो मनमा बेचैनी ।

‘जे भए पनि परीक्षण त गर्नैपर्यो भनेर भैरहवा पुगेँ । कोरोना परीक्षण गरियो, अन्तिममा रिपोर्ट आयो, नेगेटिभ । त्यो रात आनन्दसँग निदाएँ, लक्षण रोकिएको थिएन तर पनि कोरोना होइन भन्नेमा ढुक्क भएपछि धेरै हदसम्म दुखाइ कम भएको महसुस हुँदो रहेछ,’ केसी सम्झन्छन् ।

ज्वरो मच्चिएर आउन थालेपछि परीक्षण गराउन जाँदा उनलाई स्वास्थ्य समस्याले सताएको १२ औं दिन भइसकेको थियो । पानी समेत पिउन मुस्किल हुँदाहुँदै ११ वटा दिन बितिसकेका थिए । कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि चार/पाँच दिनसम्म स्वास्थ्य ठीक नभएपछि रिपोर्टको भर पनि कसरी पर्नु । अब भएन भनेर परिवारका सदस्यहरुले काठमाडौं लैजाने योजना बनाए ।

कात्तिकको तेस्रो साता केसी परिवारका सदस्यसहित काठमाडौं आए । परिवारकै सदस्यको इच्छा बमोजिम भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उपचारको लागि लैजाने तयारी भयो । ‘कुन अस्पताल जाने भन्नेबारेमा मलाई केही पनि थाहा थिएन, मलाई बस् काठमाडौं आएपछि अब त बाँचिन्छ कि ? भन्ने आशा पलाएको थियो,’ केसी भन्छन्, ‘छोरा–बुहारीले नै मेडिसिटी लैजाने योजना बनाएका हुन् । जापानमा रहेका छोरा–छोरीले अस्पतालमा बुझाउनुपर्ने धरौटी रकम पनि यतै आफन्तलाई भनेर जोहो गरेका रहेछन् ।’

मेडिसिटीमा आएपछिको पनि रोचक अनुभव सुनाउँछन्, केसी । अस्पतालमा कोरोनाको परीक्षण नगराइ अन्य उपचारको लागि भर्ना नै लिँदैनन् भन्ने सुनेका थिए । तर भैरहवामा दुई/तीन दिनअघिमात्र परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको देखाएपछि उनीहरुले छुट्टै राख्ने गरी स्वाब संकलन गरेर भर्नाचाहिँ लिए । उनी भैरहवामा नै परीक्षण गराएर आएकोले रिपोर्ट नआउन्जेल अलपत्र बन्नु नपरेको बताउँछन् ।

भोलिपल्ट रिपोर्ट आयो, पोजिटिभ ।

‘म छाँगाबाट खसे जस्तै भएँ । मेरो मृत्यु कोरोनाबाट नै हुन लेखेको रहेछ कि भन्नेसम्म सोच्न पुगेँ,’ उनी भन्छन्, ‘मलाई भोक लाग्ने शृङ्खला रोकिएको थिएन । चिकित्सकहरूले हुन्छ भनेसम्मको खानेकुरा सबै खाएँ, मेरो त्यो खुवाइ नै अस्वाभाविक थियो, त्यसैले पनि होला म बाँचेर आएँ ।’

अक्सिजन स्याचुरेसन घट्दै जाँदा मान्छेलाई भेन्टिलेटरको आवश्यकता पर्दै जान्छ । केसी आफ्नो अक्सिजन स्याचुरेसन ९६ बाट कहिलै पनि नघटेको देख्दा चिकित्सकहरू समेत अचम्ममा परेको सुनाउँछन् ।

सहयोगको मागमा केसीको समर्थन

उनलाई अस्पताल भर्ना गरेपछि पार्टीका सदस्य एवं पदाधिकारीहरू आएर केसीको स्वास्थ्योपचारको आर्थिक व्यवस्थापनबारे छलफल गरे । पार्टीभित्रका साथीहरूसँग आर्थिक संकलन गर्नका लागि केसीसँग पनि छलफल गरेका थिए । त्यतिबेलासम्म सरकारले खर्च व्यहोर्ने निर्णय गरेको थिएन । केसीले पनि धेरै खर्च लाग्न सक्ने देखेर स्वतन्त्र निर्णय गर्न आग्रह गरे ।

केसीकै सहमतिमा पछि सहयोगको लागि सार्वजनिक अपिल गर्ने निर्णय भएको थियो । त्यो अपिल पछि विवादमा आयो । जापानमा रहेका जेठा छोरा सचित्रले आफ्नो बुवाको अवस्था सामान्य रहेको भन्दै पैसा उठाउने बहानामा नफस्न आग्रह गरेपछि जनमोर्चाको अपिल विवादमा आएको थियो ।

पछि सरकारले उनको स्वास्थ्योपचार खर्च व्यहोर्ने निर्णय गरेपछि जनमोर्चाले उठाएको सबै खर्च सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने निर्णय गर्यो । सरकारले निर्णय गर्नुअघि आफ्नै सहमतिमा पार्टीले सहयोगको अपिल गरेको उनी बताउँछन् ।

बिरामी हुँदाको चासो

कोरोना संक्रमित भएर अस्पतालमा बस्दा शुभेच्छुकहरुले गरेको मायाले आफूलाई कोरोनाविरुद्ध लड्न झनै ऊर्जा मिलेको बताउँछन् केसी । उनी बिरामी हुँदा उपेन्द्र महतोदेखि, रामचन्द्र पौडेल, भीम रावलसम्मले प्रत्यक्ष रूपमा चासो देखाएको सुनाउँछन् । ‘उपेन्द्र महतो लगायतले मेरो स्वास्थ्यको बारेमा चासो देखाउनुभएको रहेछ । मलाई त मोबाइल चलाउन दिइएको थिएन, भीम रावल भेट्नै आउनु भएको थियो, रामचन्द्र पौडेलले टेलिफोन गर्नुभएको थियो,’ उनी भन्छन् ।

फोक्सोमा सात ठाउँमा निमोनिया

कोरोना पोजिटिभ पाइएपछि मेडिसिटीमा उपचार गराउने क्रममा छातीको एक्सरे पनि गरिएको थियो । एक्सरेको क्रममा फोक्सोमा निमोनिया रहेकाले सतर्क रहन सुझाव त दिएका थिए, त्योभन्दा बढी चिकित्सकहरूले केही पनि नभनेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘होम आइसोलेसनमा बसेका धेरै मान्छेहरू मैले पनि देखेको थिएँ । एक साता अस्पतालमा बसेपछि म पनि धेरै पैसा लाग्छ भन्ने लागेर घर जान जिद्दी गर्न थालें । अस्पतालले कोरोना पोजेटिभ हुँदाहुँदै पठाउन आनाकानी गर्यो । मैले पनि आफ्नो अडान छाडिनँ । अस्पताल भर्ना भएको सातौं दिनमा जसरी पनि घर जाने भनेपछि कोरोना परीक्षण गरियो । आठौं दिनमा रिपोर्ट नेगेटिभ आयो ।’

नेगेटिभ आएपछि केसी भैरहवा फर्किने तयारीमा जुटे । जाँदाजाँदै ह्याम्स अस्पतालका चिकित्सक डा. अरुण कार्कीसँग आफ्नो स्वास्थ्य अवस्थाबारे परामर्श लिए । मेडिसिटीमा गरेको एक्सरेको रिपोर्ट हेर्दा फोक्सोको ६ ठाउँमा निमोनिया देखिएको केसी बताउँछन् ।

जीवनशैलीमा ध्यान दिए बाँचिँदो रहेछ

कोरोना संक्रमणपछि अहिले शरीर शिथिल भएको केसी बताउँछन् । पहिलेभन्दा खाना रुच्न थाले पनि एकदमै थकित महसुस हुने गरेको उनी बताउँछन् ।

आफ्नो जीवनशैलीको कारणले पनि ८१ वर्षको उमेरमा समेत कोरोना जित्न सकेको हुन सक्ने अनुभव सुनाउँछन् । ३० वर्षदेखि शाकाहारी भोजन मात्रै खाँदै आएका उनी आफ्नो खानामा कहिलै सम्झौता नगर्ने हो भने धेरै स्वास्थ्य समस्यालाई जितेर अघि बढ्न सकिने सुझाउँछन् ।

अर्काे त म रोगसँग लड्न सक्छु भन्ने आत्मविश्वास पनि आवश्यक हुने केसी अनुभव सुनाउँछन् । आफू बिरामी भएर अस्पताल भर्ना हुँदा उपचारको खर्च व्यहोर्ने निर्णय गरेकोप्रति धन्यवाद व्यक्त गर्दै केसीले सबै विपन्न नेपालीको स्वास्थ्यको जिम्मा लिनुपर्नेमा जोड दिएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *