किसान कानूनको समर्थनमा बोलेका सन्नी देवललाई दुई कमान्डोसहित ११ जनाको सुरक्षा

बलिउडका अभिनेता तथा भारतीय जनता पार्टी (भाजपा)का सांसद सन्नी देवलको सुरक्षा बढाइएको छ।सरकारले ल्याएको किसान कानूनको समर्थनमा बोलेको केही दिनपछि उनलाई ‘वाई क्लास’ सुरक्षा दिइएको एनडिटिभीले जनाएको छ अहिले भारत सरकारले ल्याएका किसान कानूनविरूद्ध दिल्लीमा दैनिक प्रदर्शन भइरहेका छन्।

उनले किसान कानूनको समर्थनमा बोलेपछि आन्दोलनरत किसानहरू भड्किएका छन् ६४ वर्षीय देवललाई दुई जना कमान्डो, प्रहरी तथा पिएसओसहित ११ जनाको सेक्युरिटी दिइएको हो।

गुर्दासपुरका सांसद देवलले किसान आन्दोलनबारे नबोलेको भन्दै उनको आलोचना भएको थियो गत हप्ता उनले आफ्नो ट्विटरमा यो विषय किसान र सरकारबीचको मामिला भएको बताएका थिए। यस विषयमा केहीले समस्या उत्पन्न गर्न खोजेको लेखेका थिए।

‘मलाई थाहा छ कि धेरैजसो मानिसहरूले यो अवस्थाको फाइदा उठाउन खोजिरहेका छन् र समस्या उत्पन्न गरिरहेका छन्। उनीहरू किसानका बारेमा सोचिरहेका छैनन्। उनीहरूसँग आफ्नै एजेन्डा हुनुपर्छ। म मेरो पार्टी र किसानहरूसँग उभिन्छु र म सधैं किसान रहन्छु,’उनले ट्विटरमा लेखेका छन्, ‘हाम्रो सरकारले सधैं किसानको हितमा सोच्छ र म पक्का छु कि सरकारले किसानहरूसँग वार्ता गरी सही परिणाम सुनिश्चित गर्छ।’

ट्विटपछि सन्नी देवलका बुवा धर्मेन्द्रले पनि ट्विट गरेका थिए। धर्मेन्द्र पनि बलिउडका अभिनेता हुन् भने उनी सन् २००४ देखि २००९ सम्म भाजपाबाट निर्वाचित सासंद थिए।

‘मेरा किसान दाजुभाइहरूलाई भएको कष्ट हेर्नु पर्दा निकै पीडा भएको छ,’ धर्मेन्द्रले लेखेका थिए।८५ वर्षीय पूर्वसासंद धर्मेन्द्र राजस्थानको विकनेरबाट निर्वाचित भएका थिए। उनले सरकारलाई यो समस्याको समाधान चाँडो गर्नुपर्ने भन्दै लेखेको ट्विट भने हटाएका थिए।

धर्मेन्द्रकी पत्नी हेमा मालिनी पनि भाजपाकी सासंद हुन्। उनले यस विषयमा भने केही बोलेकी छैनन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *