पोखराको सडकमा पार्किङ गर्दा घण्टे शूल्क तिर्नपर्ने ,सवारी साधन हेरेर घण्टको दररेट

पोखराको पार्किङ ब्यवस्थापनमा फेरि समस्या आएको भन्दै स्थानीयले बिरोध गरिरहेका छन् । सडकमा पार्किङ गर्नका लागि ठेक्का खोलेर महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफ्नो चुनावी नारा ‘स्मार्ट सिटी’को खिल्ली आफैले उडाएको स्थानीयको आरोप रहेको छ ।

केही समय यता महानगरपालिका पार्किङको बिषयमा मौन रहेको थियो । लामो समय मौन रहेको महानगरपालिकाले स्मार्ट पार्किङको अवधारणा ल्याउनेमा महानगरबासी बिश्वस्त रहेका थिए ।

तर, पछिल्लो समय महानगरपालिकाले पुरानै शैलीको सडकमा पार्किङ गर्नका लागि जिम्मा लगाएपछि महानगरपालिकाका मेयरप्रति सवारी चालक तथा महानगरबासीले आक्रोश पोखेका छन् ।

स्थानीयहरुका अनुसार महानगरपालिकाले सडकमा पार्किङ गर्नका लागि टेण्डर दिएको तथा घण्टे शूल्क तिर्नपर्ने प्रावधान ल्याएपछि आफूहरु आक्रोशित भएको बताएका छन् ।

महानगरपालिकाले बिकल्पसहितको पार्किङ स्थल दिन नसक्नु तथा घण्टे शूल्क उठाउने नियम बनाएपछि पोखराका स्थानीय, नागरिक समाज तथा सवारी चालकहरुले बिरोध जनाएका छन् ।

पार्किङ शूल्कमा महानगरपालिकाको गैह्रजिम्मेवारीपन भएको र बिकल्प दिन नसकेको भन्दै युवाहरुको सञ्जाल रहेको जागौ नेपाल राष्ट्रिय अभियानले महानगरपालिकाको गेटमा धर्ना दिएका छन् ।

जागौ नेपाल राष्ट्रिय अभियान कास्कीका जिल्ला प्रवक्ता शिवराज बस्ताकोटीले ब्यवस्थित पार्किङ स्थल छुट्याउन माग गर्नुका साथै घण्टे शूल्क लिन नहुने भन्दै पोखरा महानगरपालिकाको गेटमा आफूहरुले धर्ना कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

महानगरपालिका सडक बेच्ने काममा लागेको र सधै सडकको पैसाले गुजारा गर्ने गरेको आरोप बिरोध कार्यक्रममा सहभागी स्थानीय रोशन श्रेष्ठले लगाएका छन् । श्रेष्ठले महानगरपालिकाका मेयरको स्मार्ट सिटी र स्मार्ट काम भनेकै जसरी हुन्छ पैसा उठाउ भन्ने रणनीति मात्र रहेको आरोप पनि लगाए ।

पार्किङ शूल्कको बिरोध गर्दै राष्ट्रिय उद्योग ब्यापार महासंघले पनि बिरोध जनाएको छ । महासंघले अनिश्चितकालीन धर्ना कार्यक्रम गर्दै पार्किङ शूल्क नलिन बिरोध गरिएको कार्यक्रममा सहभागीले बताएका छन् ।

महानगरपालिकाले ठूला सवारी साधनको प्रति घण्टा ३० रुपैया, मझौला सवारी साधनको मुख्य सडक क्षेत्रमा रु ३० प्रति घण्टा र अन्य सडक क्षेत्रमा रु २० प्रति घण्टको दररेट राखेको छ ।

त्यस्तै हलुका सवारी साधनको रु २० प्रति घण्टा र अन्य सडक क्षेत्रमा रु १५ तय गरेको छ भने मोटरसाइकलको सवालमा रु १० दररेट कायम गरेको छ । यसरी तय गरिएको दररेट जनतामुखी नभएको गुनासो बढ्न थालेको छ ।

महानगरपालिकाले स्मार्ट सिटीको नारा भजाएर फेरि सडकमै सवारी साधन पार्किङ गर्ने प्रणालीको बिकास गरेको भन्दै चर्काे आलोचना भइरहेको छ । महानगरपालिकाको पार्किङ शूल्क उठाउने जिम्मा पाएको फेवा साबित्री ज्वाइन्ट भेन्चरले रु ३ करोड १६ लाख ७० हजारमा २ बर्षका लागि ठेक्का पारेको छ ।

मंसिर २८ गतेबाट पार्किङ शुल्क उठाउन थालेको भएता पनि अघिल्लो बर्षहरुमा जस्तै बिना कुनै पूर्वाधार पैसा उठाउने मात्र काम भएको गुनासो बढेको छ । सडकमा पार्किङ गर्दा गाडी कोरिएमा, हराएमा या कुनै क्षति भएमा कसैले जिम्मेवारी नलिने तर, पार्किङ शुल्क भने दिनहुँ तिर्नु परेको स्थानीय सवारी चालकहरु बताउँछन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *