कतार बसेर चार लाख ऋणको ३६ लाख रुपैयाँ बुझाउँदा पनि पीडितले जग्गा फिर्ता पाएनन्
चक्रिय ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पक्राउ परेका छन्।
गैरकानुनी ‘मिटरब्याज’ को धन्दा चलाउँदै आएका ४५ वर्षीय ‘मन्टु’ भनिने रौनियारलाई प्रहरीले सोमबार साँझ घरैबाट पक्राउ गरेको हो।
रौनियारविरूद्ध तीन सर्वसाधारणले मिटरब्याज लगानीबाट ठगेको जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रौनियारको घरबाट मिटरब्याज लगानीका केही कागजात समेत प्रहरीले बरामद गरेको छ।
छ। तथापि, प्रहरीले रौनियार पक्राउ र उनीमाथि लागेको कसुरबारे अनुसन्धान भइरहेकाले विस्तृत जानकारी दिएको छैन।
‘ठगीका उजुरी परेपछि हामीले अनुसन्धानका लागि पक्राउ गरेका हौं, अनुसन्धान चलिरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने।
केही उजुरी र सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताए पनि रौनियारको मिटरब्याज कारोबारबारे प्रहरीले बताएको छैन। यता, सर्वसाधारण जनता भने ब्याजको भारले ‘टाट’ पल्टिएर रोइकराइ गरिरहेका छन्।
मिटर ब्याजमा ऋण लिएका मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेनले चार लाख रुपैयाँ ऋणको ३६ लाख रुपैयाँ बुझाउँदा पनि जग्गा फिर्ता नपाएको बताए।
उनका बुवाआमाले ११ कठ्ठा जग्गा धितोमा राखेर रौनियारसँग चार लाख रूपैयाँ लिएका थिए।
बुवाको नामको पाँच र आमाको नामको तीन कठ्ठा गरी ११ कठ्ठा धितो राखेर रौनियारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए।
यो सात वर्षअघि हो। मञ्जर यो ऋण तिर्न पाँच वर्ष कतार बसे। पाँच वर्षमा उनले ३६ लाख ब्याज तिरेपछि आमाको नाममा राखेको धितो जग्गा रौनियारले फिर्ता गरे। तर, बुवाको नाममा राखेको धितो फिर्ता दिन मानेनन्।
यो बीचमा मञ्जर कतारबाट आएर धेरैपटक रौनियारकहाँ धाए। तर, रौनियारले जग्गा फिर्ता दिएनन्।
‘लकडाउनको बेला कतारबाट फर्केर आएँ, गएर जग्गा फिर्ता गरिदिनुस् भन्दा अरू ६८ लाख तिरेपछि मात्र फर्काइदिन्छु भने,’ हुसेनले भने, ‘यसरी हामीलाई कंगाल बनाउन खोजेपछि उजुरी दियौं।’
रौनियार पक्राउ परेपछि उनीविरूद्ध प्रहरीमा जाहेरी दिनेको लर्को लागेको छ। मंगलबार तीस जनाभन्दा बढी सर्वसाधारण प्रहरीमा जाहेरी दिन पुगेका छन्।
रौनियारले चार लाखको ४७ लाख र दुई लाख लगानी गरेर ८५ लाख असुल गरेका सर्वसाधारण पनि रहेको हुसेनले बताए। उनीहरू अहिले प्रहरीमा जाहेरी लेखाइरहेका छन्।
उनीहरूजस्तै सय बढी सर्वसाधारण पीडित रहेको हुसेनको भनाइ छ।
पीडित अमित यादवका बुवाले २०७० जेठ २१ गते मोरङको सुनवर्शी नगरपालिकाको १ बिगाहा १ कठ्ठा जग्गा रौनियारसँग धितोमा राखेर ५ लाख रुपैयाँ लिएका थिए।
गत चैतसम्म उनले ५ लाख रुपैयाँको ब्याज मात्र १० लाख रुपैयाँ तिरिसकेका छन्। तर, जग्गा फिर्ता भएको छैन।
पीडितका अनुसार रौनियारले कागज गर्दा आफू दोषी नदेखिने गरी सर्वसाधारणको ल्याप्चे लगाएका छन्।
‘झट्ट कागजात हेर्दा उनले आफू तल पर्ने काम गरेको देखिँदैन, हामी अनुसन्धानकै क्रममा छौं,’ प्रहरी उपरीक्षक सन्तोष खड्काले सेतोपाटीसँग भने।
सयौं मान्छेलाई ‘मिटर ब्याज’ लगानी गरी पाँचौं गुणा ब्याजअसुल्ने सर्लाहीका ‘मिटरब्याजी’ ‘परदेशी’ भनिने श्यामकृष्ण साहलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरेको थियो।
सर्लाही मलंगवा नगरपालिका-१० घर भएका साहले ‘चक्रवर्ती’ ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ठगेको आरोप लागेको थियो।
साहले मिटर ब्याज लगानी गरेर सहीछाप गरी अदालतमा समेत मुद्दा दर्ता गरेर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत गर्दै आएका थिए।
रौनियारको शैली पनि उस्तै रहेको हुसेनले बताए। जग्गा फिर्ता माग्न जाँदा उल्टै अदालतमा मुद्दा हालेर आफूलाई दु:ख दिएको उनले बताए।