उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी

उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले ऐक्यबद्धता जनाएका छन् ।

काठमाण्डौको माइतीघरमा भइरहेको किसानहरूको आन्दोलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरू पुगेर ऐक्यबद्धता जनाएका हुन् । नेताहरूले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यबद्धता जनाए ।

त्यस क्रममा कांग्रेस प्रवक्ता शर्माले किसानहरू उखुको मोल खोज्न नभइ सरकार खोज्न आएको बताउनुभयो । उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिए पनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताए। यस्तै अहिले सरकारमा बस्नेहरूले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताए । चुनावको बेला किसान र मजदुरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरूले अहिले तिनै किसानहरूलाई नचिनेको बताए । प्रदर्शनमा आउने किसानहरू किसान नै होइनन् भन्ने मन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा हो वा होइन भन्दै उहाँले प्रश्नसमेत गरे ?

किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका जसपाका नेताहरूले चिनी मिलका सञ्चालकहरूलाई गिरफ्तार गरेर भए पनि किसानको पैसा दिलाउनुपर्ने बताएका छन् । जसपा नेता नवराज सुवेदीले किसानले लिनुपर्ने बाँकी रकम मिल सञ्चालकलाई कारबाही गरेर भए पनि भुक्तानी गराउन सरकारले तत्परता देखाउनुपर्ने बताए । सरकारले छिटोभन्दा छिटो किसानका माग पूरा नगरे आफूहरूले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनीसमेत दिए।

जनता समाजवादी पार्टीको किसान महासङ्घ पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेको थियो । महासङ्घका केन्द्रीय सदस्य आनन्दराम फुयाँलले अहिलेको सरकार लोकतान्त्रिक हो भनेर गर्व गर्ने ठाउँ समाप्त भएको बताए । सरकार दलालहरूको हो भन्ने कुरा पछिल्ला अभिव्यक्तिहरूबाट पुष्टि भइसकेको पनि उहाँले बताए ।

उखुको भुक्तानी माग गर्दै आन्दोलनमा सहभागी हुँदै आउनुभएका सर्लाहीका उखु किसान गजेन्द्रप्रताप सिंहले सरकारले किसानप्रति गरेको व्यवहार सकारात्मक नभएको बताए । किसानले कपडा लागाएर आन्दोलन गर्दा सरकारले बिचौलिया देखेको भन्दै दुःख व्यक्त गरे। उद्योगीहरूले ठेक्कापट्टाका लागि लिएको ऋण उखुबाट उत्पादन भएको चिनी बिक्री गरेको रकमबाट तिर्ने तर किसानलाई भुक्तानी नदिने प्रवृत्तिले आफूहरू मारमा परेको पनि बताए ।

उखु किसानहरू उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइ दिन माग गर्दै आइतबारयता काठमाण्डौको माइतीघरमा आएर आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरूसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *