अध्यादेशमार्फत ऐन संशोधन गरेको केही घण्टा पनि बित्न नपाउँदै संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम राईलाई सिफारिस गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थिति नभए पनि राईलाई सिफारिस गर्ने तयारी भएको स्रोतले जानकारी दियो।
अध्यादेशबाट ऐन संशोधनपछि परिषद्को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र राईलाई प्रमुख आयुक्त सिफारिस गर्ने भएको हो। प्रधानन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले परिषद्को बैठक सुरु भएकाे जानकारी दिए।
नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दलाई आयुक्तमा सिफारिस गर्ने तयारी गरिए पनि कांग्रेसले बैठक बहिस्कार गर्ने भएपछि उनको भविष्य अन्योलमा परेको छ।
आयोगमा प्रमुख आयुक्तसहित दुईजना आयुक्त पद खाली थियो।
परिषद बैठकमा सभामुख सापकोटा नगएपछि सरकारले मंगलबार दिउँसो आकस्मिक रुपमा अध्यादेशमाफर्त संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेको छ।
बालुवाटारमा जारी संवैधानिक परिषद्को बैठक।
ऐनमा अध्यक्षसहित कम्तिमा चार जना सदस्य उपस्थित हुनुपर्ने प्रावधान हटाएर अध्यक्षसहित बहाल रहेका बहुमत सदस्य भए निर्णय गर्न सकिने गरी अध्यादेश जारी भएको छ।
उक्त प्रावधानअनुसार परिषद्मा बहाल रहेका पाँचमध्ये तीन जना उपस्थित भएमा निर्णय गर्न सकिनेछ। जसअनुसार अध्यक्ष केपी शर्मा ओली र प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितमा परिषदले निर्णय लिन सक्नेछ।
अध्यादेशको विरोधमा विपक्षी कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने भएका हुन् भने सभामुख सापकोटा नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा बैठकमा अनुपस्थित हुँदै आएका छन्।