अध्यादेश ल्याउने कदमले स्वर्गीय मदन भण्डारीको योगदान र नेतृत्वको अवमूल्यन भयो : भीम रावल

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ विवाद उत्पन्न गरेको छ । पार्टीको स्थायी कमिटी बैठक जारी रहेको बेला पार्टीभित्र छलफल नगरी अध्यादेश ल्याइएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ । नेकपा नेताहरुले जारी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल हुने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले यो बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने कदमले स्वर्गीय मदन भण्डारीको योगदान र नेतृत्वको अवमूल्यन भएको टिप्पणी गरेका छन् । नेता रावलले अहिले उक्त अध्यादेश ल्याउनुलाई सरकारकाे ‘आपत्तिजनक र स्वेच्छाचारी कदम’ भनेका छन् ।

‘संसदको अधिवेशन बोलाउनुपर्ने, नेकपाको स्थायी कमिटीको बैठक जारी रहेको र सडकदेखि पार्टीका बैठकमा समेत सरकार लोकतान्त्रिक मूल्य मान्यताअनुसार चल्नुपर्ने माग भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनुभएको छ, यो अत्यन्तै आपत्तिजनक र स्वेच्छाचारी काम हो’, रावलले भने, ‘म यतिबेला २०४७ सालको संविधान र वर्तमान संविधान निर्माणको बेला सम्झिरहेको छु । संवैधानिक परिषद्का लागि तत्कालीन नेकपा एमालेले निर्वाह गरेको भूमिका र कमरेड मदन भण्डारीको योगदानको समेत अहिले पूरै बेवास्ता भएको छ ।’

प्रधानमन्त्री ओलीले नै संवैधानिक परिषद्बारे आफैंले अघि सार्नुभएका मान्यताहरुमाथि आज आफैले प्रहार गरेको उनको भनाइ छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *