एक शिक्षकका फरक–फरक जन्ममितिमा एउटै नम्बरका चारवटा नागरिकता

सिरहा, ३० मंसिर । शिक्षण सेवा अवधि लम्ब्याउन सिरहाका एक शिक्षकले फरक–फरक जन्ममितिमा एउटै नम्बरका चारवटा नागरिकता बनाएर पेस गरेको खुलेको छ । चन्द्र नमुना मावि (प्राविधिक) का शिक्षक सकलदेव यादवले चारवटा नागरिकता बनाएर पेस गरेको पाइएको हो ।

कागजात किर्ते गरी उमेर हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि शिक्षा विकास तथा समन्वय इकाइले शिक्षक यादवलाई अनिवार्य अवकाश दिएको छ । इकाइको २०७७ मंसिर २३ को निर्णयअनुसार निम्न माध्यमिक शिक्षक (द्वितीय) दरबन्दीका शिक्षक यादवलाई २०७६ असोज १७ देखि लागू हुने गरी अनिवार्य अवकाश दिइएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट यादवको नागरिकताको प्रमाणित प्रतिलिपि झिकाएर छानबिन गर्दा सेवाको समय उमेर हदभन्दा १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाश दिइएको इकाइका निमित्त प्रमुख शशिकुमार यादवले बताए ।

उनका अनुसार किर्ते कागजात बनाई उमेर हदभन्दा बढी शिक्षण गरी राज्य कोषको दोहन गरिरहेको उजुरी परेलगत्तै छानिबन गर्दा शिक्षक यादवले सिरहा प्रशासनबाटै विभिन्न मितिमा फरक–फरक जन्ममिति उल्लेख गरी समान ५७९५ नम्बरका चारवटा नागरिकता झिकेको पुष्टि भएको हो ।

सिरहा नगरपालिका–१७ माडरका सकलदेवविरुद्ध ११ मंसिरमा उजुरी परेको थियो । इकाइले १८ मंसिरमा उनलाई नागरिकताको सक्कल प्रति पेस गर्न पत्राचार गरेको थियो । तर उनले बुझाएनन् । उनले फरक–फरक नागरिकता लिएको छानबिनबाट पनि फेला परेको इकाइका निमित्त प्रमुख यादवले बताए । एउटा नागरिकताको जन्ममितिलाई आधार मान्दा अझै तीन वर्ष सेवाको अवधि बाँकी देखिन्छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *