कोरोनाभाइरसबाट संक्रमित हुनुभएका लिबियाका एक जना सांसदको निधन भएको छ|
मोरक्कोस्थित एक अस्पतालमा उपचार गराइरहेका बेला सांसद ओमर गार्मिलको निधन भएको अधिकारीहरुले जनाएका छन् । उहाँलाई झण्डै एक हप्ता अगाडि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँको उपचार भइरहेको थियो ।
निधन भएका सांसद गार्मिल नोभेम्बरको अन्त्यतिर तान्जायर्समा भएको एउटा बैठकमा सहभागी हुनुभएको थियो । सो बैठकमा लिबियाका अरु १२० जना सांसद पनि सहभागी भएका थिए ।
मोरक्कोको कुटनीतिक श्रोतका अनुसार सांसद गार्मिलको गत आइतबार नै निधन भएको हो । मोरक्कोमा कोरोनाका कारण अहिलेसम्म झण्डै चार लाख मानिस संक्रमित भएका छन् । तीमध्ये छ हजार ६२४ जनाको मृत्यु नै भएको छ ।
त्यसैगरी लिबियामा अहिलेसम्म ९१ हजार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एक हजार ३१४ जनाको मृत्यु भएको छ ।