सर्लाहीका चिनी मिल सञ्चालकहरूको आरोप, धर्नामा बसेकाहरू उखु किसान नभएर बिचौलिया मात्र

 सर्लाहीका चिनी मिल सञ्चालकहरूले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरू उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाएका छन् ।

सोमबार उद्योग मन्त्रालयसंगको छलफलका क्रममा उनीहरुले उखु किसानको नाममा आउने भौचर किन्ने बिचौलियाहरु नै धर्नामा बसेको आरोप लगाएका हुन् । उनीहरुले वास्तविक किसानहरूलाई बिचौलियाले मर्कामा पारेको र धर्नामा वसेकाहरुको अनुसन्धान गर्न आग्रह गरेको उद्योग मन्त्री लेखराज भट्टले जानकारी दिए। मन्त्री भट्टले छलफलका क्रममा किसानको भुक्तानी गर्न निर्देशन दिइएको बताए । अहिले सर्लाहीको अन्नपूर्णले १७ करोड र र इन्द्रा सुगर मिलले ४ करोड ७० लाख बक्तौत्ता तिर्न बाँकी देखिएको उहाँको भनाइ छ ।

त्यस्तै रौतहतको श्रीराम सुगर मिल बन्द भएको र ३५ करोड तिर्न बाँकी रहेकाले आफ्नौ भौतिक सम्पती बेच्ने प्रक्रियामा गएको जानकारी आएको मन्त्री भट्टले बताए। लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखुकिसानहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेपछि मन्त्री भट्टले चिनी मिल सञ्चालकहरुसंग छलफल गरेका हुन् ।

यता, बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले सोमबार पनि माइतीघरमा प्रदर्शन गरेका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

गत वर्ष सरकारले उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरुले अझै उखुको पैसा पाएका छैनन् । यसबाहेक नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका कार्यक्रम पनि आयोजना गर्ने तयारी किसानहरुको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *