६ वर्षका बालकलाई गेम खेल्ने यस्तो लत लाग्यो कि उनले आफ्नी आमाको बैंकबाट १९ लाख रुपैयाँ उडाइदिए । यी बालक आफ्नी आमाको आइप्याडमा गेम खेलिरहेका थिए । यही क्रममा उनले भर्चुअल गोल्डेन रिंग किन्नको लागि एप्पल स्टोरमा कैयौं पटक आमाको क्रेडिट कार्डको प्रयोग गरे । उनले चुपचाप आमाको क्रेडिट कार्डबाट १६ हजार डलर खर्च गरे । बालकले गरेको यो खर्चले अब त्यो परिवारले क्रिसमसको योजना रद्द गर्नुपर्ने स्थिति आएको छ ।
बालक अमेरिकाको कनेक्टिकटका हुन् । अब परिवारलाई यो रकम चुक्ता गर्न निकै कठिनाइ भइरहेको छ । एप्पलले ती अभिभावकको पैसा रिफण्ड (फिर्ता) गर्न अस्वीकार गरेको छ । डेलीमेलका अनुसार ६ वर्षका ती बालकको नाम जर्ज जोनसन हो । जर्ज आफ्नी आमा जेसिकाको आइप्याडमा आफूलाई मन पर्ने गेम सोनिक फोर्सेज खेलिरहेका थिए । यो गेममा नयाँ क्यारेक्टरको प्रयोग र माथिल्लो लेभलमा पुग्नको लागि उनले क्रेडिट कार्डबाट विभिन्न प्लानहरु किने ।
पहिलो पटक क्रेडिट कार्डको बढेको बिल आएपछि जेसिकाले यो गेम खेलेका कारण भएको हो भनेर बुझ्न सकिनन् । जेसिकालाई अरु कसैले फ्रड गरेको जस्तो लागेको थियो । यही कारण उनले बैंकमा सम्पर्क गरिन् र सुरुवाती ६० दिनभित्र उनले एप्पलमा सम्पर्क गर्न सकिनन् । जेसिकाले ६ वर्षका जर्जलाई उनले के गरे भनेर बताइन् त्यसपछि जर्जले पनि आमासँग आफूले पैसा तिर्ने बताए ।
जेसिकाका अनुसार परिवारको आम्दानी यसवर्ष यसै पनि ८० प्रतिशतले कम भएको छ । अब परिवारले क्रिसमस कसरी मनाउने भन्ने समेत सोच्न सकिरहेका छैनन् । एप्पलले रिफण्ड दिन यसकारण अस्वीकार गर्यो किनकि अभिभावकले चाइल्ड प्रुफ सेटिङ अन गरेका थिएनन् । जेसिकाले आफ्ना छोराको व्यवहार कुनै ड्रग एडिक्टको जस्तो भएको बताइन् ।