‘सरकारले घुँडा नटेकेसम्म हामी सडकमै रहन्छौं’ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीका बीच बाध्य भएर आफ्नो पार्टी सडकमा आउनुपरेको बताएका छन्।

कांग्रेसले आइतबारदेखि सुरू गरेको देशव्यापी प्रदर्शन अन्तर्गत धनगढीमा आयोजित सभामा बोल्दै उनले सरकारका क्रियाकलापबाट आजित भएर सडकको सहारा लिनुपरेको र सरकार ठेगानमा नआएसम्म सडकबाट नफर्कनेसमेत दाबी गरे।

‘बालुवाटारको दुलोमा लुकेर षड्यन्त्र गरेको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको छ,’ उनले भने, ‘सरकारले घुँडा नटेकेसम्म हामी सडकमै रहन्छौं।’

कोरोना महामारीबीच सक्दो सतर्कता अपनाएर सडक प्रदर्शन गर्ने उनको भनाइ थियो। यसका बाबजुद कुनै घटना घटे सरकार त्यसको जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

राष्ट्रपति विद्यादेवी भण्डारी महामहिम नभई जनताले नै बनाएको राष्ट्रपति भएको उनले स्मरण गराए।

‘राष्ट्रपतिले मर्यादा राख्नुभएको छैन। प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको होइन,’ उनले भने।

उनले स्वर्गीय मदन भण्डारीले बोलेको भाषण सुनाएरमात्रै राष्ट्रपतिले चुनाव जितेको आरोप लगाए।

‘राष्ट्रपति महोदय आँखा नचम्काइ बक्स्योस्, हात नचम्काइ बक्स्योस्, हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्, राजालाई त सडकबाट फाल्यौं। राष्ट्रपतिलाई पनि सडकमा ल्याउन हिम्मत राखौं,’ उनले भने।

सरकार जतिसुकै शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउने काम नगरेको उनको तर्क थियो।

‘सरकारले तत्कालै गर्नुपर्ने काम गर्दैन, जहिल्यै पुरा नहुने हावादारी कुरा मात्रै गर्छ,’ उनले भने, ‘मुखले भ्रष्टाचार गर्दैनौं भनेको सरकार आफैंले वाइडवडी, सेक्यूरिटी प्रेस, वालुवाटारको जग्गा खर्लप्प खायो।’

उनले लकडाउन गरेर मजदुर, जनतालाई घरमा थुनेर सरकार आफूलेचै सिन्कोसमेत नभाँचेको थापाको आरोप छ।

अख्तियारले छानबिन गरिररहेको मान्छेलाई प्रधानमन्त्रीले निर्दोष घोषणा गर्दै भ्रष्टाचार संरक्षण र प्रोत्साहन गरेको उनले आरोप लगाए।

भारतले मिचेको भूमि फिर्ता ल्याउन कांग्रेसले नक्सा जारी गर्न सरकारलाई दवाव दिएपछि प्रधानमन्त्रीले बाध्य भएर नक्सा बनाएको उनको दावी थियो।

पार्टीभित्रको झगडामा आफूलाई माथि पार्न विविध षड्यन्त्र प्रधानमन्त्रीले गरिरहेको उनले दाबी गरे। नेता थापाले यी सबै कुरा आफूले भनेको नभई नेकपाकै अध्यक्ष प्रचण्डले भनेको र नेकपाका नेता माधव नेपालले लेखेको कुरा पढेर मात्र सुनाएको बताए। ‘हामीले उहाँहरुको नाटक हेरेर बस्नुपरेको छ,’ उनले भने।

उनले नेकपाका अध्यक्ष प्रचण्ड र नेता नेपाललाई इंगित गर्दै आफ्नै पार्टीको प्रधानमन्त्री भ्रष्ट छ भनेर उहाँहरूले नै लेखेको दावी गरे। ‘हामीले भ्रष्टचारीलाई पनि प्रधानमन्त्री भनेर बोकेर हिड्नुपर्ने दिन आयो,’ उनले प्रश्न गरे।

सुदूरपश्चिम प्रदेशका जनताले संघीयता, गणतन्त्र, समावेशीता र संविधानको पक्षमा आवाज उठाउनुपर्नेमा ठिक उल्टो भएको बताए ।

सरकारले प्रस्ताव गरेको कानुनमा नागरिकले बोल्न र लेख्न पाउने अधिकार खोस्न खोजेको आरोप उनको थियो।

उनले सरकारले सामाजिक सञ्जालमा आफ्ना विचार लेख्न पनि रोक्ने कानुन बनाउन लागेको उनले आरोप लगाए।

नेता थापाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विषयमा बोल्दै सरकारको नियतमाथि प्रश्न उठेको बताए ।

कांग्रेस नेताको टाउकोमा डण्डा बजाउन ओली सरकारले प्रहरीलाई ठाडै आदेश दिएको उनले आरोप लगाए।

निर्मला पन्तको बलात्कार र हत्या काण्डको संरक्षण गर्ने मान्छे गृहमन्त्री, वालुवाटारको जग्गा हडप्ने अर्थ मन्त्री, स्वास्थ्य सामाग्रीमा कमिसन खाने प्रधानमन्त्रीको विशेष मन्त्री बनेको उनको आरोप छ।

प्रधानमन्त्रीको संलग्नतामै सारा भ्रष्टाचार भएको उनले आरोप लगाए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *