अवैध संरचनामा महानगरले चलायो डोजर

पोखराको फेवातालको मापदण्ड मिचेर रातारात बनाईरहेका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ। फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आइतबार विहान डोजर लगाएर भत्काएको हो।

शनिबार विहान महानगरले डोजर लगाएर सोहि ठाउँमा संरचना भत्काएको थियो। तर श्रेष्ठले शनिबार साँझदेखि रातारात पुनः संरचना निर्माण गर्न थालेपछि आइतबार महानगरले पुनः डोजर लगाएर भत्काएको पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए।

पहारीको नाममा लालपुर्जा रहेको सो ठाउँमा यसअघि प्याराग्लाइडिङ ल्याण्डिङ स्थल थियो। प्याराग्लाइडिङ ल्याण्डिङ गरेबापत विभिन्न प्याराग्लाइडिङ कम्पनीबाट उनले भाडा लिने गरेका थिए। तर रेष्टुरेण्ट व्यवसायीले बढी भाडा दिने भनेपछि उनले प्याराग्लाइडिङ ल्याण्डिङ स्थलमा रेष्टुरेण्ट बनाउन दिएका थिए। अहिले अवैध रुपमा बनाउन लागिएको स्थल फेवातालको पानीको सतह भित्रैबाट सुरु गरिएको छ। फेवातालमा ६५ मिटर मापदण्ड लागु गरिएको छ। तर फेवाताल भित्रैबाट संरचना बनाएपछि यसको विरोध भएको छ।

फेवातालको त्यस क्षेत्रमा पछिल्लो क्रममा मापदण्ड मिचेर अवैध संरचना बनाउने होडबाजी नै चल्ने गरेको छ। पहारीको भन्दा ३०–४० मिटर पश्चिमतर्फ पछिल्लो १ महिनामा २ वटा संरचना बनिसकेको छ। पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनेको वडाध्यक्ष थापाले बताए।

वडाध्यक्ष थापाले अब फेवातालमा कुनैपनि अवैध संरचना बन्न नदिने दृढता व्यक्त गरे। अवैध संरचना बनेको हामी जनप्रतिनिधि टुलुटुलु हेरेर बस्न सक्दैन, उनले भने,‘जति बनाउँछन्, त्यति नै हामी भत्काईरहन्छौं।’

ताल किनारमा व्यक्तिको जग्गा भएकाले पनि समस्या बारम्बार दोहोरिएको वडाध्यक्ष थापाको भनाइ छ। राज्यले पनि यो विषयमा छिटो निकास दिनुपर्‍यो, उनले भने,‘सर्वोच्चले संघ, प्रदेश र स्थानीय तहलाई जे जे गर्न भनेको छ त्यो अनुसार गर्न अब ढिलाइ गर्न हुँदैन।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *