विप्लव समूहप्रति निर्मम बन्दै गृह प्रशासन

इटहरी : शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यापछि मोरङको मिक्लाजुङ-१ र आसपासका क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तिव्र पारेको छ । विशेष सर्च अभियान सञ्चालन गर्न मंगलबार रातिदेखि नै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वमा प्रहरी खटिएको छ ।

सबै नाका सिल गर्दै जंगल र ग्रामीण क्षेत्रमा विशेष अप्रेसन जारी राखिएको उनले बताए । संलग्नको पहिचानका लागि विगतमा विप्लव समूहबाट बरामद भएका दस्तावेज र विभिन्न कागजपत्रको पनि अध्ययन सुरु गरिएको छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीका अनुसार सबै सुरक्षा निकायसँग समन्वय गरेर सर्च जारी राखिएको हो । प्रहरी सशक्त रुपमा अघि बढ्ने बताउँदै उनले भने, ‘विप्लव समूहविरुद्धको कारबाहीमा प्रहरी चुप लागेर बस्दैन ।’ पछिल्लो घटनाले थप हिंसा बढाएर लैजानसक्ने विश्लेषण प्रहरीको छ । सर्चका क्रममा समूहसँग दोहोरो भिडन्त हुनसक्ने सम्भावनासमेत रहेको प्रहरी स्रोतको भनाइ छ ।

विशेष सर्च अप्रेसनमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफै खटिएका छन् । अहिलेसम्म घटनामा संलग्न कोही पक्राउ भने परेका छैनन् । एसपी खड्काले घटनाको प्रभावकारी ढंगले अनुसन्धान थालिएको र संलग्नलाई पक्राउ गरेर चाँडै निष्कर्षमा पुग्ने केही आधार फेला परेको बताए।

निर्मम बन्दै गृह प्रशासन

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले घटना दुःखद् र अमानवीय रहेकोभन्दै सरकारले थप निर्णय लिन बाँकी रहेको बताए ।

यता प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले घटनाको प्रभावकारी अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् भने प्रहरीलाई सहयोग गर्नसमेत सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले पछिल्लो घटनाबाट उत्पन्न उपस्थितिलाई विश्लेषण गर्दै नियन्त्रणमा लिन त्यही हिसाबको सुरक्षा तैनाथी मिलाएर रणनीति तयार पारिएको जानकारी दिए ।

बम विष्फोट, आगजनी लगायत हिंसात्मक गतिविधि गर्न थालेको भन्दै सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको उक्त समूहप्रति सरकार र सुरक्षा निकाय आक्रामक बनेको थियो । विशेष अप्रेशनपछि देशभरबाट संगठनका प्रभावशाली नेता पक्राउ परेका थिए । तर पक्राउ गर्ने वित्तिकै राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने र प्रमाणित गर्ने आधार नहुँदा नेता, कार्यकर्ताहरु छुट्ने गरेका थिए ।

पूर्वी पहाडमा विप्लव समूहको रजगज

मिक्लाजुङ-१ वडाध्यक्ष नरबहादुर राईका अनुसार वडा कार्यालय रहेको स्थानबाट पैदल हिँडेर जाँदा घटनास्थल अढाई घण्टा बढी समय लाग्छ । जहाँ लामो समयदेखि प्रहरीको उपस्थिति शून्य छ ।

स्थानीय बासिन्दाले पटकपटक सशस्त्र र नेपाल प्रहरीको युनिट राखिदिनुपर्ने माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । उर्लाबारी र मधुमल्लाबाट घटनास्थलमा पुग्न प्रहरीलाई ८ घण्टा बढी समय लागेको थियो ।

दुर्गम र सुरक्षाकर्मीको पहुँच नपुगेको फाइदा उठाउँदै मिक्लाजुङको उत्तरी क्षेत्रमा विप्लव समूहले लामो समयदेखि संगठनात्मक गतिविधि सञ्चालन गर्दै आएको थियो । स्थानीय बासिन्दाले पनि विप्लव समूहले बारम्बार परेड खेल्ने गरेको बताएका छन् । सूचनाकै आधारमा प्रहरीले त्यस क्षेत्रमा पटक–पटक ‘स्वीप’ अप्रेसन चलाइसकेको छ ।

केही दिनअघि मात्र पनि प्रहरीले मिक्लाजुङबाट ‘विप्लव’ समूहका दुई नेतालाई पक्राउ गरेको थियो । त्यही बेला सुराकी दिएको आरोपमा समूहले प्रअ श्रेष्ठको हत्या गरेको अनुमान गरिएको छ ।

मिक्लाजुङ मात्र होइन, पूर्वी पहाडका सोही सेरोफेरोका ठाउँलाई विप्लव माओवादीले आधार बनाएको बताइएको छ । २०७६ साल असार २५ गते भोजपुर सदुरमुकाममा गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र ‘विप्लव’ समूहको ओखलढुंगा इन्चार्ज निरकुमार राईले ज्यान गुमाएका थिए । एक प्रहरी अधिकारीका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि भूमिगत रुपमा विप्लव समूहले आफूलाई सशक्त र मजवुत बनाउँदै लगेको सूचना सुरक्षा निकायमा छ ।

प्रदेशमा मात्रै दुई सय पक्राउ

प्रहरीकाअनुसार प्रतिबन्ध लगाएयता हालसम्म मुलुकभर एक हजार नौ सय ४७ जना पक्राउ परेका छन् । तीमध्ये अधिकांश एक हजार छ सय ७८ जना छुटेका छन् । एक सय ४३ जनालाई मात्रै अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कविन्द्रकुमार कार्कीकाअनुसार प्रदेश १ बाट विभिन्न समयमा हालसम्म ‘विप्लव’ समूहका दुई सय चारजना पक्राउ परेको छन् । अदालतको आदेशाअनुसार हाल २९ जना कारागारमा कैद भुक्तान गरिरहेका छन् भने सात जना अनुसन्धानका क्रममा रहेका छन् । अन्य एक सय ६८ जनामध्ये कैयौंले कैद भुक्तान गरिसकेको र केही तत्कालै थुनामुक्त भएको कार्कीले बताए ।

समूहका कार्यकर्ताबाट हतियारसमेत बरामद हुने गरेको छ । २०७५ साल फागुनमा विप्लवका एक कार्यकर्ता सुनसरीको धरानमा नेपाली सेनाले प्रयोग गर्ने एलएमजी र एम १६ हतियारसहित समातिएका थिए । पूर्वमाओवादी जनसेनाका कम्पनी कमाण्ड रहेका देवकुमार लिम्बूबाट उक्त हतियार बरामद हुनुले अझैपनि माओवादीले द्वन्दकालमा भेला पारेका हतियार सुरक्षित तरिकाले लुकाएर राखेको र सैन्य तयारी गरेको पुष्टि गर्ने कतिपय विश्लेषकको दाबी छ ।

हत्या गरिएका शिक्षकलाई सहिद घोषणा गर्न माग

गाउँमा विकास प्रेमी र शैक्षिक उन्नयनकर्ता भनेर चिनिने श्रेष्ठको हत्यापछि गाउँ शोकमा डुबेको वडा अध्यक्ष नरबहादुर राईले बताएका छन् । घटनापछि विभिन्न संघ संगठनले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

श्रेष्ठको बिहीबार बिहान बक्राहा घाटमा अन्त्येष्टि गरिएको छ । शिक्षक संघ संगठन, मानव अधिकारवादी संस्था, राजनीति दल, स्थानीय संघ संस्था, नागरिक समाजसमेतले विज्ञप्ति जारी गरेर निर्दोष मानिसलाई क्रुरतापूर्वक हत्या गरिएको भन्दै राजनीतिका नाममा हुने यस्ता घटना क्षम्य हुन नसक्ने उल्लेख गरेका छन् । विज्ञप्तिमार्फत दोषीमाथि अविलम्ब कारबाहीको माग गरिएको छ । श्रेष्ठलाई सहिद घोषणा गर्नुपर्नेसमेत माग गरिएको छ ।

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार घटनापछि परिवारका सदस्य र आफन्त भावविह्वल भएका छन् । कोही पनि सम्हालिन सक्ने अवस्थामा नरहेको र हत्याको घटनाले सबैलाई स्तब्ध एवं त्रसित बनाएको उनको भनाइ छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *