मोरङको पथरीशनिश्चरेमा पसलका खरिद गरिएको नखोलेको चामलको बोराभित्र मरेको मुसा फेला परेको छ । मुसाकासाथै औषधिका पोका पनि भेटिएका छन् ।
पथरीशनिश्चरे नगरपालिका –१ स्थित यलम्बर चोकको अटल किराना पसलबाट खरिद गरिएको शीलप्याक चामलको बोराभित्र मरेको मुसा भेटिएको हो । चामलको बोरा पथरीशनिश्चरे –२ का हस्तबहादुर जैराईले खरिद गरेका हुन् । उनले छोरा श्यामको शुक्रबार हुने बिहेको भोज आयोजना गर्न बास्मती चालम खरिद गरेका थिए ।
खरिद गरिएकोमध्ये एउटा बोराभित्र मरेको मुसा र चारवटामा औषधिको पोको भेटिएको हस्तबहादुरले बताए । नखोलेको र बन्द अवस्थामा रहेको चामलको बोराभित्र अखाद्य वस्तु भेटिएपछि उनले सम्बन्धित निकायलाई खवर गरेका थिए । जय हिन्द राइस ट्रेडर्स अलिपुर दिल्ली भारतबाट उत्पादित र प्याकिङ गरिएको ‘फर टु फर बास्मती राइस’ नामक चामलको २५ किलोग्राम दरका चार बोरा चामलमा यस्तो अखाद्य वस्तु भेटिएको हो ।
चारवटै बोराभित्र औषधिजस्तो देखिने झुम्रोमा रहेको वस्तु र त्यसमध्ये एउटा बोराभित्र मरेको मुसा भेटिएको हस्तबहादुरले बताए । प्याकिङ गरिएको २४ महिनासम्म प्रयोग गर्न उचित हुने लेखिएको बोरा सन् २०१८ मा प्याकिङ गरिएको पाइएको छ । तर बोराको माथिल्लो भागमा रहने दोहोरो धागोको प्याकिङ खोलेर त्यसको केही मुनी एकसरो धागोले सिलाएको बोरा देखिएपछि थप आशंका पैदा भएको पथरीशनिश्चरे –२ का वडा अध्यक्ष यामप्रसाद गुरागाईंको भनाइ छ ।
गुरागाईं नेतृत्वको टोलीले अखाद्य चामल भेटिएको जानकारी पाएपछि शुक्रबार अनुगमन गरेको थियो । टोलीले यस विषयमा आवश्यक छानबिन गर्न पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतलाई चामलको बोरा बुझाएको छ ।
कम्पनीबाटै प्याकिङ गरेको अवस्थामा चामलको बोरा ल्याइएकाले आफूलाई केही थाहा नभएको बिक्रेताले बताएका छन् । अध्यक्ष बस्नेतका अनुसार सम्पर्क गर्दा घुन लाग्न र बिग्रन नदिन चामलमा औषधि प्रयोग गरिएको भए पनि मरेको मुसाका बारेमा भने जानकारी नभएको उत्तर कम्पनीले दिएको छ । आवश्यक छानबिन गरेपछि र थप कुरा बुझेपछि मात्रै वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ ।