उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्वन्धित विषयमा आज गृह, अर्थ, परराष्ट, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग शुक्रबार सामूहिक छलफल गरेका छन् ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतीबारेमा जानकारी लिएका हुन् । उनले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गरेका हुन्। ‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ‘त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल गर्यौं ।’
बैठकले कोभिड नियन्त्रण सम्वन्धित कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ती चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकताअनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो । साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्वन्धमा देखापरेका केही व्यवहारिक कठिनाइका सम्वन्धमा छलफल भएको छ ।