सुतिरहेका पितालाई ३ छोरीहरुले कुटीकुटी मारे, दिदीबहिनीका कुराले सबैका आँखा रसाए

काठमाडौं। आफ्नै पिताको हत्या अभियोगमा मुद्दा खेपिरहेका र अर्को सुनुवाइको प्रतिक्षा गरिरहेका ३ दिदीबहिनीमध्ये ठूला २ दिदीबहिनीलाई आफ्नी आमासँग कुराकानी गर्न अदालतले अनुमति दिएसँगै रुसका खचातुर्यन दिदीबहिनी पुनः एकपटक चर्चामा आएका छन् । मस्को सिटी कोर्टले जेठा २ दिदीबहिनीलाई आफ्नी आमासँग कुराकानी गर्न अनुमति दिएको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ ।

यी दिदीबहिनीले २०१८ मा आफ्ना पितालाई चक्कु, हथौडा र खुर्सानीको धुलोले आक्रमण गरेर मारेका थिए । हत्यापछि उनीहरु आफैंले फोन गरेर पुलिस बोलाएका थिए । यो घटनाका विषयमा रुसमा ठूलो संख्यामा मानिसहरुले यो हत्याको पछाडि ठोस कारण भएको विश्वस गर्छन् । केहीले यी दिदीबहिनीले आत्मरक्षाको क्रममा पिताको हत्या गरेको मान्छन् भने केहीले उनीहरुले योजनाबद्ध तरिकाले पिताको हत्या गरेको विश्वास गर्छन् ।

यी दिदीबहिनी खचातुर्यन दिदीबहिनीको नामले चर्चित भएका थिए । आक्रमणपछि उनीहरुका पिताको शरीरको जाँच गर्दा चक्कुका ३० घाउ भेटिएका थिए । पिताको टाउको, घाँटी र छातीमा आक्रमण गरिएको थियो । पुलिसले हत्याको कारणबारे अनुसन्धान गर्दा उनले लामो समयदेखि छोरीहरुलाई प्रताडित गरिरहेको खुलेको थियो । बीबीसीको रिपोर्टअनुसार अनुसन्धानमा पिताले छोरीहरुलाई कुटपिट गर्ने, अन्य कैयौं माध्यमले यातना दिने र कैदीजस्तै राख्ने तथा यौन दुर्व्यवहार समेत गर्ने खरेको खुलासा भएको थियो ।

घटनाको समयमा तीन दिदीबहिनीहरुमध्ये क्रिस्टिना १९ वर्षकी, एन्जेलिन १८ वर्षकी र मारिया १७ वर्षकी थिइन् । यी दिदीबहिनीहरु पितासँग मस्कोमा एक फ्ल्याटमा बस्थे । दिदीबहिनीसँगै उनीहरुकी आमा पनि घरेलु हिंसाको शिकार भएकी थिइन् । आमा छुट्टै बस्थिन् । २७ जुलाइ २०१८ मा उनीहरुले पिताको हत्या गरेका थिए । पिताले यी दिदीबहिनीलाई आमासँग भेट्न पनि दिँदैनथे । अनुसन्धानका क्रममा घरेलु हिंसाका कैयौं प्रमाण भेटिँदा पनि यी दिदीबहिनीहरुमाथि हत्याको आरोप लगाएर मुद्दा चलाइएको थियो ।

हिंसापीडितविरुद्ध हत्याको मुद्दा चलाइएपछि यो मुद्दा बहसको केन्द्रमा आएको थियो । तीन लाखभन्दा धेरै मानिसहरुले एक अभियान अन्तर्गत यी दिदीबहिनीको रिहाइको माग गरेका थिए । मानव अधिकार संगठनहरुले यी दिदीबहिनीहरु अपराधी नभइ पीडित भएको बताउँदै रुसी कानुनमा संशोधनको माग गरेका थिए । घटनाको दिन पिताले तीनैजना दिदीबहिनीलाई पालैपालो बोलाएर घर किन ठिकसँग सफा नगरेको भन्दै गाली गरेका थिए । त्यसपछि राती यी दिदीबहिनीले पितामाथि खुर्सानीको धुलोले आक्रमण गरेका थिए ।

रिपोर्टका अनुसार रुसमा आम रुपमा घरेलु हिंसालाई पुलिसले पारिवारिक विवाद मान्छ र यस्ता घटनामा निकै कम सहयोग गर्छ । यी दिदीबहिनीकी आमालाई पनि पहिले कुटिएको थियो । आमाले पुलिसमा उजुरी पनि गरेकी थिइन् तर पुलिसले कुनै कारवाही गरेको तथ्य भेटिएन । यो केसको सुनुवाइ अझै जारी छ र निकै ढिलो सुनुवाइ भइरहेको छ । अदालतले यी दिदीबहिनीलाई धरौटीमा रिहा त गरेको छ तर कैयौं प्रतिबन्ध लगाएको छ । अदालतले यी दिदीबहिनीलाई पत्रकारसँग कुरा गर्न, आमासँग भेट्न, आपसमा कुरा गर्न सकेत प्रतिबन्ध लगाएको थियो । अहिले तिनैमध्ये आमासँग कुरा गर्न लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो । उनीहरु हत्या अभियोगमा दोषी ठहर भएमा २० वर्षसम्म जेल सजाय हुन सक्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *