महिला सांसदहरूको गुनासो पुरुष सांसदहरूबाट सबैभन्दा धेरै महिला हिंसा…..

महिला सांसदहरूले पुरुष सांसदहरूबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको बताएका छन्। लैंगिक न्यायका लागि संघीय सांसदहरूको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला सांसदहरूले कतिपय पुरुष सांसदहरूबाटै हिंसा हुने गरेको बताएका हुन्।

राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले संघीय संसदका पुरुष सांसदहरूबाटै महिला हिंसा भएका उजुरीहरू विभिन्न संघसंस्थामा परेको बताए। उजुरी परेपछि सांसदहरूले दवाव दिने गरेको त्यस्ता संघसंस्थाका सञ्चालिकाहरूले आफूसमक्ष बताउने उनको भनाइ छ।

“पीडितहरूलाई राख्ने संघसंस्थाका सञ्चालिकाहरूले अहिलेकै बहालवाला सांसदले पनि महिला हिंसा गरेको उजुरी आएको। मेरो विरुद्धमा किन मुद्दा हाल्नुभयो भनेर बहालवाला संघीय सांसदले हामीलाई थर्काई राख्नुभएको भनेर भन्नुहुन्छ। त्यो एकदमै जटिल कुरा हो”, पौडेलले भनिन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति समेत रहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पवित्रा निरौला खरेलले निर्वाचनमा उम्मेदवारी दिने विषयमा समेत महिलाहरू राजनीतिक हिंसामा पर्ने गरेको बताइन्। जित्ने ठाउँमा पुरुष उठ्ने र नजित्ने ठाउँमा महिलालाई उठाएर राजनीतिक रूपमा महिला हिंसा हुने गरेको उनको भनाइ छ।

“हामी कानून बनाउनको लागि यो ठाउँमा उभिएका छौं। आइपुगेका छौं। तर, हामी पनि आज हिंसामा छौं। आजपनि हामीहरू राजनीतिक हिंसाबाट प्रताडित भइरहेका छौं”, उनले भनिन्। सांसद निरौलाले निर्वाचन जितेर आएका महिला सांसदहरूलाई पनि विभिन्न मानसिक तनाव दिने गरिएको बताइन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले अपराध संहिताको दफा २६ मा जवरजस्ती करणी गरेको अवस्थामा महिलाले आत्मरक्षाका लागि प्रतिकार गर्दा पुरुषको मृत्यु भएमा कसूर नलाग्ने उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताइन्। पछिल्लो समय धनकुटामा भएको घटनामा त्यस्तै देखिएको उहाँको भनाइ छ।

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सरकारले नल्याएका विधेयकहरू महिला सांसदहरू मिलेर गैह्रसरकारी विधेयकका रूपमा संसदमा दर्ता गराउनुपर्ने बताइन्। त्यसका लागि अहिलेको यो समूहले नेतृत्व गर्नुपर्नेमा जोड दिइन्।

“सरकारले ल्याउने विधेयकहरू त छँदैछन। गैह्रसरकारी विधेयकहरू हामीले दर्ता गरेर हामी महिलाहरूले साँच्चै यो विधेयक आवश्यक छ। सरकारले हामीले भनेको जस्तो न्याय दिने खालको विधेयक ल्याएको छैन भने हामीले विधेयक संसदमा दर्ता गराएर त्यसका लागि छलफल गनराउनुपर्छ”, उनले भनिन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विद्या भट्टराईले महिलामाथि हुने हिंसालाई अपराधको रूपमा लिनइनुपर्ने बताइन्। तर, अहिले हिंसा र अपराधका मुद्दालाई महिला विकासको रूपमा मात्र व्याख्या गरी कार्यक्रमहरू गरिएकाले हिंसाका घटना भइरहेको बताइन्।

जनता समाजवादी पार्टी नेपालकी सांसद प्रमिला कुमारीले नेपाल सरकारका मातहतका समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व नगराउनु पनि महिला विरुद्धको हिंसा भएको टिप्पणी गरिन्। संविधानले दिएको व्यवस्था समेत कार्यान्वयनमा नआएको भन्दै महिलाको उपस्थिति बढाउन फेरि संविधान संशोधन गर्नुपर्नेमा उनको माग छ।

छलफलमा सांसदहरूले राजनीतिक रूपमा नै हिंसा अन्त्य नभएसम्म तल्लो तहमा हुने हिंसाका गतिविधिमा न्यूनीकरण ल्याउन नसकिने बताएका छन्। ऐन कानून बुझेकाहरूबाटै हिंसा भइरहने समाजमा ऐन कानून नबुझेकाबाट हुने हिंसा न्यूनीकरणका लागि धेरै काम गर्नुपर्नेमा महिला सांसदहरूले जोड दिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *