लामो दुरीका धावक रामसुन्दर कार्कीले यस बर्ष पनि ललितपुरबाट दौडेर जनकपुर पुग्ने भएका छन् । १ सय १ दिन लगाएर २०६४ सालमा देशको ७५ जिल्लामा दौडेर छिचोलेका रामसुन्दरले यस बर्ष पुष १ गते ललितपुरबाट दौड सुरु गरी पुष ३ गते जनकपुर पुग्ने योजना बनाएका छन् ।
विवाह पञ्चमीको अवसरमा गत बर्षदेखि जनकपुर दौडेर जान थालेका धावक कार्कीले गत बर्ष जनकपुरवासीको तर्फबाट न्यायो स्वागत पाएको बताए । यस बर्ष विवाह पञ्चमी पुष ४ गते परेको छ ।
हरेक दिन विहान ३ बजेदेखि दौडन सुरु गर्ने कार्की यसपटक दौडनका लागि सहयोगको खोजीमा छन् । गत बर्ष धेरै संस्थाले सहयोग गरेपनि यसपटक कोरोनाको कारण पनि सहयोग नजुटेकोमा खिन्न छन् ।
दौडेर जनकपुरसम्म पुग्दा र आफूलाई स्कटिङ गर्ने टोलीका लागि खर्च धेरै लाग्ने गरेको उनको भनाइ छ । आफूलाई दौडनकै लागि जन्मिएको बताउँने धावक कार्की देशको नाम राख्न पनि धेरै ठाउँमा दौडिएको बताउछन् ।
अल्ट्रा धावकरुपमा परिचित कार्कीले देश र देश बाहिर आयोजना भएका १०० किलोमिटर दौड, हाफ म्याराथन , सगरमाथा म्याराथनलगायतमा सहभागी भएर धेरै पदक जितिसकेका छन् ।
दौडका लागि आवश्यक खर्च जुटाउन आफ्नो गाउँ ललितपुरको गोदावरीमा सानो चिया पसल चलाउँदै आएका धावक कार्की अन्य धेरै ठाउँमा पनि दौडेर पुग्ने योजना बनाएका छन् ।