सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ ।
मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले चरिकोट अस्पताल–दोलखा, मेथिनकोट अस्पताल–काभ्रेपलाञ्चोक र बज्रबाराही चापागाउँ अस्पताल–ललितपुरलाई प्रदेश मातहत रहने निर्णय गरेको हो ।
त्यस्तै, बकुलहर रत्ननगर अस्पताल–चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र–काठमाडौंलाई पनि प्रदेश मातहत रहने निर्णय गरेको छ । अब उक्त अस्पतालहरुको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गर्नेछ ।
यसैबीच भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा भद्रपुर–७ झापाका डा. विष्णुदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै वारपाक सुलिकोट गाउँपालिका, गोरखाको जग्गा इलाका प्रहरी कार्यालय ताकुकोटको नाममा हस्तान्तरणको लागि स्वीकृति दिने निर्णय पनि गरेको छ । यसका साथै कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकाको नाम हेरफेर गरी दोधारा चाँदनी नगरपालिका कायम गर्ने निर्णय पनि गरेको छ ।