काठमाडाैं, २४ मंसिर । वल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल भए ।
यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जित्न सफल भएका एशियन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिए ।
सिनियरतर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल गरेका छन् । प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागी भएका थिए । सहभागी पाँच खेलाडीमा चार पोखराका र एक महिला सुर्खेतको रहेका छन्।
प्रतियोगितामा सहभागी हुन जानुअघि नेपाल पावर लिफ्टिङ एशोसिएशनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो । एशोसिएशनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ ।