डेढ किलोमिटर सडक तीन वर्ष वितिसक्दा पनि बनेन

परासी : ३ वर्ष वितिसक्दा पनि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निर्माण भइरहेको डेढ किलोमिटर सडक अझै पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाही र स्थानीय तहको बेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको हो । जिल्ला सदरमुकामको निलो गेटदेखि बुद्धचोकसम्म डेढ किलोमिटर सडक फोर लेनको रुपमा विस्तार हुँदै छ । निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था बिजोग देखिएको छ ।

पीच निर्माणका लागि भन्दै ३ महिना अघिबाट सडक छेउमा गिट्टीहरु लथालिङ छाडिएको छ । सडक पेटी र छेउछाउमा हुने काम पनि अधुरै छ । त्यस्तै धूलोका कारण जनजीवन सास्ती बनेको छ । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माणको काम सुरु गरेको हो । सडक निर्माणका लागि महालक्ष्मी सुनकोशी वल्र्ड वाईज जेभी काठमाण्डौंले कुल १५ करोड ९७ लाखमा ठेक्का लिएको छ ।

डिभिजन कार्यालयबाट भएको निर्माण कार्यको स्थानीय स्तरमा अनुगमन र सहजीकरण गर्न रामग्राम नगरपालिकालाई जिम्मेवारी दिइएको छ । तर नगरपालिकाले वास्ता नगर्दा सदरमुकामको अवस्था बिजोग बनेको छ ।

२ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने शर्तमा २०७४ असार २९ गते कम्पनीले सडक निर्माणको सम्झौता गरेको थियो । समयमा काम सम्पन्न गर्न नसकेपछि ३ पटकसम्म म्याद थप गरिएको छ । पछिल्लो पटक कोरोना संक्रमणको कारण देखाउँदै २०७७ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनका इन्जिनियर माधव कटुवालले जानकारी दिए ।

दुवैतर्फ सडकको चौडाइ १ सय फिट (३०.५ मिटर) छ । जसमा नाली, फुटपात, डिभाईडर, हरियाली क्षेत्र, सोलार, कर्व स्टोन, टिक ड्रेनलगायतका संरचना निर्माण हुने छन् । त्यसैगरी कालोपत्रे, सडक पेटी रङरोगन, पेन्टिङ र टिक ड्रेन निर्माण रहेका छन् ।

ती कुनै पनि काम पूरा भएका छैनन् । पीच निर्माणमा प्रयोग हुने सामाग्री राख्नका लागि ठाउँ अभाव भएर ढिलाइ भएको बताए । निर्माण अवधिको म्याद नथपिए २/३ महिनामा पीच हुने उनले बताए । रामग्राम नगरपालिका अनुगमन समिति संयोजक एंव उपप्रमुख रम्भा कुँवरले समयमा सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई ताकेता गरेपनि अटेरी गरेको बताईन् । ‘हामीले अनुगमन र सहजीकरण गर्ने हो । अहिले पनि ताकेता गरिरहेका छौं । अन्तिम पटक थपिएको अवधिभित्र काम सम्पन्न हुन्छ भनेर ठेकेदारले भनेका छन्,’ उनले भनिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *