‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसंघको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसंघीय महासन्धि सन् २००३ मा पारित गरेको थियो ।
सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदा हुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन।
केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन्।
दिवसको अवसरमा सन्देश दिँदै उनले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिइएको बताए। प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताए। नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो लागेको बताए।