घर नेपाल, बाटो भारतको

विराटनगर : न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न। तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर- १७ का गजेन्द्र ठाकुरका परिवार। घर नेपालमा भए पनि भारतको बाटो प्रयोग गरेर घर जानुपर्ने बाध्यताले उनको परिवार सीमा सिल गरिएसँगै घरबाट निस्कन पाएको छैन। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ठाकुरको परिवार समस्यामा परेको हो।

बसोबास नेपालमा भए पनि बाहिर निस्केर हिँड्न भारतको बाटो प्रयोग गर्नुपर्छ। अर्को कुनै विकल्प छैन। लकडाउनको समयमा नेपालीभन्दा भारतमा समस्या थियो। नेपाल आउने बाटो अरू थिएन। अहिले भने भारतले एकतर्फी रूपमा सीमा नाका खुला गरेको छ, तर नेपालतर्फको सिमाना बन्द नै छ।

ठाकुर परिवारको घरभन्दा पश्चिम नेपाल–भारत सीमाको दसगजा पर्दछ। दसगजासँगै जोडेर भारततर्फ सडक छ। त्यही सडकबाट जोगबनी भन्सार नाका हुँदै ठाकुर परिवार नेपाल आउजाउ गर्ने हुँदा अहिले उनीहरू नेपालमा घर भए पनि नेपाली क्षेत्रमा आउन पाउँदैनन्। ठाकुर परिवारका चार दाजुभाइमध्ये माइला गजेन्द्र ठाकुर हुन्। दाजु कृष्णकुमार ठाकुर, गजेन्द्र, रवीन्द्र र अशोकले पैतृक सम्पत्तिमा चारवटा घर बनाएर चारै जना अलगअलग बसेका छन्।

ठाकुर परिवार त्यहाँ बस्न थालेको सात पुस्ता भयो। ७१ वर्षीय गजेन्द्र ठाकुरले भने ‘मेरा जिजुबाजेले आर्जेको १० बिघाको एउटै प्लट थियो, जिजुबाजे फिरन ठाकुरले विस १९३० मा तिरो तिरेको रसिद पनि मसँग छ।’ फिरन ठाकुरपछि उनका छोरा जुगेश्वर ठाकुर, नाति रामसोभित ठाकुर र पनातिहरूमा उनका चार छोरा कृष्णकुमार, गजेन्द्र, रवीन्द्र र अशोक हुन्। उनीहरूका पनि पनातिसम्मको पुस्ता त्यही ठाउँमा बसोबास गरिरहेको छ। २००४ सालमा राणाले स्थापना गरेको रघुपति जुट मिलले ठाकुर परिवारको केही जग्गा हड्पिएर घरमै सटाएर तीन मान्छेबराबरको अग्लो पर्खाल लगाइदियो। २०३३ सालमा आएर बाँकी जग्गा पनि विराटनगर भन्सार कार्यालयले अधिग्रहण गरिदियो। उत्तर पूर्वको जग्गामा पनि भन्सारले रघुपति जुट मिलले लगाए जत्रै अग्लो पर्खाल लगाएर घेरेपछि ठाकुर परिवार घेराबन्दीमा परेको थिए।

पहिले विराटनगरको रोडशेष चोक हुँदै मिल्स एरिया जाने सडक ठाकुर परिवारको घरै अगाडि भएर बुधनगरसम्म पुगेको थियो। विराटनगर भन्सारले बाटोसमेत मासेर दिवाल उठायो। बाटो र जग्गाको मुआब्जाका लागि ठाकुर परिवारले वर्षौँसम्म मुद्दा लड्यो। जग्गाको थोरथार मुआब्जा पाए पनि सो परिवारले बाटो पाएन।

बाटाका लागि भारतमै निर्भर रहनु पर्‍यो। गजेन्द्र ठाकुरसँग जिजुबाजेका पालादेखिकै कागजपत्र छन्। मुद्दा लड्दा बखतका कागजको ठेली देखाउँदै ठाकुर भन्छन्, ‘२००७ सालको क्रान्तिताका र क्रान्तिअघि नेपाली कांग्रेसका नेताको सेल्टर हाम्रै घर थियो। बा रामसोभितले घरमै धानको भकारीभित्र हतियार लुकाएर राखिदिनु हुन्थ्यो। राजनीति गर्नेले गाली खानुपर्छ भनेर हामीलाई चाहिँ उहाँले कहिल्यै राजनीतिमा लाग्न दिनु भएन।’

१० बिघामध्ये चार परिवारको गरी अब सात कट्ठा जग्गा मात्र बाँकी छ। बाँकी सबै जग्गा रघुपति जुट मिल र विराटनगर भन्सारले खाइदियो। विराटनगर भन्सार प्रमुख रविदेव शर्मा हुँदा उनीहरूको जग्गा अधिग्रहणमा परेको थियो। जग्गाको चार किल्लामध्ये उत्तर, पूर्व र दक्षिणतर्फ नेपाल पर्छ भने पश्चिमतर्फ भारत पर्छ। उनीहरूको घर मात्र होइन, खेती पनि भारतीय सीमा नाकासँगै जोडिएको छ। तर घर विराटनगर महानगरपालिकाको १७ नम्बर वडामा पर्छ भने १६ नम्बर वडामा खेती पर्छ।

लकडाउनको बेला खेतीसम्म आउनका लागि वडा समितिबाट सिफारिस लिनु पर्‍यो। त्यही सिफारिसका आधारमा जसोतसो गरेर उनी खेतीसम्म आउने गर्थे। खेती पनि जिजुबाजेकै पालाको हो। त्यहाँ उनीहरूको ३० बिघा जग्गा थियो। त्यही जग्गा बाबुले चार छोराका नाममा अंशबन्डा गरिदिएका थिए। ठाकुरको घरको दायाँबायाँ दसगजामै सुकुमबासी बस्ती बसेको छ। विराटनगर भन्सार नाकादेखि एकीकृत जाँच चौकी नजिकसम्म त्यसरी दसगजा अतिक्रमण गरेर बसेका सुकुमबासीका १ सय ७३ वटा घर टहरा छन्। दसगजा मात्रै क्लियर गर्ने हो भने पनि ठाकुर परिवारलाई आवतजावत गर्न सहज हुने उनी बताउँछन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *