दाङको पर्यटकीयस्थल छिल्लीकोटमा मन्दिर दर्शन गर्न गएका दाजुलाई कुटपिट गरि बहिनीमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्। घटनामा संलग्न भइ फरार अन्य ४/५ जना युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोटका २१ वर्षीय बलदेब परियार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता झलकप्रसाद शर्माले जानकारी दिए।
शनिबार दिउँसो तुलसीपुर बजार क्षेत्रबाट पर्यटकीय तथा धार्मिकस्थल छिल्लीकोटको भ्रमणका लागि दाजु र केही आफन्तसँगै पुगेकी १७ वर्षीया किशोरीलाई परियारको समूहले जोरजवरजस्ती हातपात गरेको थियो। त्यसो नगर्न आग्रह गर्दा र रोक्न प्रयास गर्दा मदिराले मातेका परियारको समूहले ती किशोरीका १९ वर्षीय दाजुलाई निर्घात कुटपिट गरि घाईते बनाएका थिए।
प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीमाथि ढुंगा र हात खुट्टाले चार/पाँच जना मिलेर कुटपिट गर्दा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रहरी निरीक्षक शर्माका अनुसार ती किशोरीले पानी ट्याङ्की नजिकै दिउँसो डेढ बजेतिर पानी पिउँदै गर्दा मदिराले मातेका परियारले जोरजवरजस्ती हातपात गरेका थिए।
‘किशोरीको संवेदनशील अंगमा हात हाल्दै जोरजवरजस्ती गर्न खोजेपछि सँगै रहेका दाजु र आफन्तले त्यसो नगर्न भन्दै रोक्न खोज्दा उल्टै दाजुमाथि निर्घात कुटपिट भएको रहेछ,’ प्रहरी प्रवक्ता शर्माले भने, ‘किशोरीमाथि जोरजवरजस्ती हातपात र दुर्व्यवहार परियार एक्लैले गरेको भए पनि उनका दाजुलाई समात्न र कुटपिट गर्न अन्य ४/५ जना युवाले सघाएको खुल्न आएको छ।’
प्रहरीका अनुसार ती किशोरी र उनका दाजुको परियार लगायत युवासँग त्यसअघिसम्म सामान्य चिनजानसमेत थिएन। दाजु, बहिनी, अंकलका छोरीहरु सहित शनिबार धार्मिक तथा पर्यटकीय स्थल छिल्लीकोटको भ्रमण गर्ने भनेर उनीहरू तुलसीपुर बजार क्षेत्रवाट छिल्लीकोट गएका थिए। छिल्लीकोट पहाडी र वन जंगलको क्षेत्रमा छ। पक्राउ परेका परियार विरूद्ध प्रहरीले जवरजस्ती करणी मुद्दा चलाएर कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।