साढे २ लाख तिरेर एक नाउर र एक झारलको सिकार

काठमाडौं । ढोरपाटन सिकार आरक्षणमा यस वर्षको पहिलो सिजनमा एक नाउर र एक झारलको सिकार भएको छ । चालु आर्थिक वर्षको पहिलो सिजनका लागि १० नाउर र ६ झारलको कोटा तोकिए पनि कोभिड महामारीका कारण एक नाउर र एक झारलको मात्र सिकार हुन सकेको हो ।

मंसिर ५ गतेदेखि खुला भएको आरक्षमा ५ गतेदेखि १० गतेभित्र निर्धारित समयमाम बेल्जियम नागरिक फ्रिडिक वायर्सद्वारा एक नाउर र एक झारलको सिकार भएको ढोरपाटन सिकार आरक्षण केन्द्र बाग्लुङका प्रमुख विरेन्द्र कँडेलले रातोपाटीलाई जानकारी दिए । कँडेलका अनुसार उक्त सिकारबाट आरक्षणले पहिलो सिजनमा कुल तीन लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो सिजनका लागि १० नाउर र ६ झारलको सिकारको लागि गत असोज ९ गते नै सार्वजनिक बोलपत्र आह्वान गरेको थियो ।

विभागले सिकारको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि सिकारका लागि नेपाल ट्राभल्सको मात्र प्रस्ताव परेको थियो । सोही प्रस्ताव अनुसार बेल्जियम नागरिक फ्रिडिक वायर्सले गत मंसिर ५ गतेदेखि १० गते भित्र एक नाउर र एक झारलको सिकार गरेका हुन् । सिकार आरक्षणले पहिलो सिजनका लागि तोकेको धुस्तुङ्ग ब्लकमा नै उक्त सिकार भएको थियो ।

साढे २ लाख तिरेर सिकार

पहिलो सिजनमा भएको एक नाउर र एक झारलका लागि २ लाख ५० हजार सिकार शुल्क लिइएको आरक्षणले जनाएको छ । वायर्सले नाउरका लागि १ लाख ६० हजार रुपैयाँ र झारलका लागि ९० हजार रुपैयाँ सिकार शुल्क तिरेको आरक्षण प्रमुख कँडेले बताए ।

यसको अतिरिक्त सिकार लाईसेन्स नवीकरण शुल्क बापत रु. ७५ हजार र अग्रिम बुकिङ्ग (एक साता बसाइँ) बापत रु ४० हजार समेत गरी कुल ३ लाख ६५ हजार रुपैयाँ पहिलो सिजनबाट आरक्षणले राजस्व उठाएको कँडेलले रातोपाटीसँग बताए ।

‘यसअघि एक सिजनमै १४–१५ लाख रुपैयाँसम्म राजस्व उठ्थ्यो । सिकारका प्रस्ताव पेस गर्न कम्पनीहरुको हानथाप पथ्र्यो । तर यस पटक कोभिडका कारण आवश्यक प्रस्तावसमेत पर्न सकेन । जसका कारण यसपटक न्यूनतम तीन÷साढे तीन लाख रुपैयाँ मै चित्त बुझाउनु प¥यो,’ आरक्षण प्रमुख कँडेलले भने ।

गत असोजको दोस्रो सातौ खुल्ला गरिएको टेन्डरमा एक मात्र कम्पनीको प्रस्ताव पर्दा आरक्षणले सिकारका लागि तोकिएको कोटा समेत पहिलो सिजनमा पुरा हुन सकेन । जसका कारण विना प्रतिस्पर्धा सिकार अनुमति दिनु परेको कँडेलको भनाइ छ ।

त्यसो त कोभिडकै कारण गत वर्षको सिकार समेत प्रभावित हुन पुगेको थियो । आर्थिक वर्ष २०७६÷७७ को दोस्रो सिजन अर्थात् गत चैत–वैशाखमा कोभिडका कारण पर्यटकीय गतिविधि पूर्णतः प्रभावित हुनपुग्दा आरक्षणमा एउटा पनि सिकार हुन नसकेको कँडेलले बताए ।

यता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्य कोभिड–१९ कै कारण सिंगो विश्व नै प्रभावित भइ पर्यटन गतिविधि नै ठप्प हुँदा ढोरपाटन सिकार आरक्षण समेत प्रभावित हुन पुग्नु नौलो कुरा नभएको बताउँछन् ।

‘हन्टिङ्ग ट्रफी’ बेल्जियममा

यस वर्षको ‘हन्टिङ्ग ट्रफी’ बेल्जियम पुगेको छ । अर्थत् सिकार गरिएको नाउर र झारलको सिंग, छाला लगायत सिकार गरिएको जनावरका शरीरका महत्वपूर्ण अंगहरु बेल्जियम पु¥याइएको हो । बेल्जियमका पेशेवर सिकारी वायर्सले आफुले गरेको सिकारको महत्वपूर्ण भाग बेल्जियम लगेका छन् । त्यसो त यस अघिका सिकारहरुमा पनि सिकारीले हन्टिङ्ग ट्रफी आफै लैजाने गर्थे ।

संरक्षित जनावरहरुको सिकार एवम् ओसार पसारमा कानुनी बन्देज रहे पनि विधिवत सिकार गरिएको जनावरको अंग भने सहजै लैजान पाउने गरी कानुनले नै व्यवस्था गरेको छ । यस्तो स्वीकृति सरकारी प्रकृया अनुसार नै मिलाइने आरक्षण प्रमुख कँडेलले बताए ।

‘हन्टिङ्ग ट्रफी’ को पूर्णतः अधिकार सिकारीमा हुन्छ । त्यो उसको सम्पत्ति मानिन्छ । त्यसैले यसको ओसारपसारमा कुनै रोकटोक हुँदैन,’ आरक्षण प्रमुख कँडेलले भने, ‘सिकारीले आफुले सिकार गरेको जनावरको शरीरका कुनै पनि भागहरु चाहेको ठाउँमा लैजान पाउँछ । यसका लागि सरकारले आवश्यक कागजात मिलाइदिन्छ ।’

उनका अनुसार यस्तो ट्रफी पेसेवर सिकारीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रदर्शन गर्ने गर्छन् । कँडेलका अनुसार यस वर्षको पहिलो सिजनका लागि एकमात्र कम्पनीको प्रस्ताव परे पनि सिकारका लागि विभागबाट लाइसेन्स प्राप्त यस्ता ८ वटा कम्पनी छन् । जसमा हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारी लगायतका कम्पनीहरु छन् । यी कम्पनीमार्फत वर्षको दुई सिजनमा सिकारका लागि विदेशीहरु नेपाल आउने गर्छन् ।

२०४२ सालमा स्थापना भएको आरक्षमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्स लगायत मुलुकबाट व्यावसायिक सिकारीहरु नेपाल आउने गरेका छन् । पेशेवर विदेशी सिकारीहरुका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो ।
बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागलाई समेटेर कुल १ हजार ३६५ वर्ग किलोमिटरमा फैलिएको यो सिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छ । प्रमुख जनावर नाउर, झारल हुन भने हिमाली भालु पनि पाईन्छ । यहाँ दुर्लभ एवं संरक्षित पंक्षीको सुचीमा परेका डाँफे, मुनाल, चिर लगायतका १६४ प्रजातिका चरा पाईन्छ ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । आरक्षमा बर्सेनी असोज–मंसिर र फागुन– वैशाख गरी दुई पटक सिकार खुल्ने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गर्ने र प्रतिस्पर्धाको आधारमा सिकार गराउने गर्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *