पुस १६, २०७७ विद्युतीय कारोबार ऐनको दुरुपयोग बन्द गर, डिल्लीबहादुर चन्दलाई तत्काल रिहाई गर ! नेपाली कांग्रेसका सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौ ल्याइएको घटनाको निन्दा गर्दै नेपाली कांग्रेस निजलाई तत्काल रिहाई गर्न माग गर्दछ । कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन् । त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ । तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो । पुर्व प्रहरी समेत रहेका चन्द स्थानीय एक निजि क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका छन् । सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिक माथि देखाउन खोजेको तुजुक निन्दनीय छ । नेपाली कांग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ । जय नेपाल ! विश्वप्रकाश शर्मा प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग