मकुना हात्ती नियन्त्रणका लागि केन्द्रबाट कोसीटप्पु खटिएको हात्तीविज्ञसहितको प्राविधिक टोलीले कुनै हालतमा हात्ती मार्न नदिने बताएको छ ।
‘मकुनालाई आरक्षबाहिर निस्किन नदिन औषधि प्रयोग गरेर मात घटाउने, फाइरिङ गरेर तर्साउने, गस्ती सङ्ख्या र अवधि बढाउने निर्णय भएको छ,’ प्राविधिक टोलीका संयोजक हात्तीविज्ञ अशोक रामले भने, ‘हामी दिन–रात मकुना र बस्तीका बीचमा बार बनेर उभिनेछौँ ।’
अशोक राम हाल खप्तड राष्ट्रिय निकुन्जमा संरक्षण अधिकृतका रूपमा कार्यरत छन् । कोसीटप्पु वन्यजन्तु आरक्षका पूर्व–संरक्षण अधिकृतसमेत रहेका राम जङ्गली हात्तीको व्यवहार विज्ञ मानिन्छन् । सोमबार सुनसरी प्रशासनले कोसी गाउँपालिकाका स्थानीयसँग जसरी भए पनि मकुना नियन्त्रण गर्ने, नसके मार्ने सहमति गरेको थियो । त्यसअघि गत मङ्सिर ३० गते सुनसरी प्रशासन मकुना मार्ने निष्कर्षमा पुगेको थियो । मिडिया तथा सरोकारवालाको चर्को दबाबपछि प्रशासन केही हच्किएको थियो ।
त्यसैबीच, सोमबार कोसी गाउँपालिका–५ का १९ वर्षीय मोती कामतको मृत्यु मकुनाकै आक्रमणबाट भएको भन्दै स्थानीय सडक अवरुद्धसहित प्रदर्शनमा उत्रिएका थिए । प्रशासनले स्थानीयसँग १० बुँदे सहमति गरेको थियो ।
सहमतिपछि प्रशासनको आग्रहमा केन्द्रले रामको नेतृत्वमा विशेष प्राविधिक टोली खटाएको हो । टोलीमा यसअघि खटिएका डाक्टर अमित सरौला तथा वन्यजन्तु प्राविधिक तीर्थ लामा छन् ।
प्राविधिक टोली र सुनसरी प्रशासनबीच बुधबार छलफल भएको छ । छलफलमा आरक्षभित्रका जङ्गली जनावर मध्यवर्ती क्षेत्रमा आउनबाट रोक्न मानवीय तथा जैविक उपायहरू सघन बनाउने निर्णय भएको छ ।