नेकपाको प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले गैरकानुनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको बताएका छन् ।
रोल्पाको लिवाङमा आयोजित सभामा पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताए । ‘सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेको छ । नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको देशमा यो स्वीकार्य हुन सक्दैन ।’
यस्तै प्रधानमन्त्रीका कारण राष्ट्रिय व्यवसायी आतंकित बनेको उहाँले उल्लेख गरे । सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतवस आफू मातहत राखेर प्रधानमन्त्रीले सुरुमै सबैचिज आफूमा केन्द्रीत गर्ने संकेत देखाएको स्मरण उनले गरे ।
प्रधानमन्त्री ओलीले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले दलभित्र असहयोग भएको बहानामा जनताको अमितको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको स्पष्ट गरे ।
अस्वाभाविक रुपमा अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिस प्रधानमन्त्री भेटेर फर्कने र प्रधानमन्त्रीको पूर्वराजासँग साँठगाँठको चर्चा चलिरहेका बेला संसद विघटन हुनुलाई आफूहरुले गम्भीर रुपमा लिएको उनको भनाइ छ ।