संसद विघटन गराएपछि आलोचित बन्दै गएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना बढ्दै गएको छ । यसबीच प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रधानमन्त्री ओलीलाई पूँजीपति, दलाल र भ्रष्टाचारीहरुको नाईके रहेको आरोप समेत लगाएका छन्।
आइतबार जनता समाजवादी पार्टी नेपालले जनकपुरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबिरुद्ध जनता समाजवादी पार्टीले आइतबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम लगायत प्रदेशको सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
गत आईतबार प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । जसपाले घोषणा गरेको ५ दिने विरोध कार्यक्रम अन्तर्गत आइतबार अन्तिम दिन प्रदेश २ का जिल्लाहरुको ठाउँठाउँमा विरोध प्रदर्शन गरिएको छ।