प्रतिनिधि सभा विघटनको विरोधमा उत्रिएको प्रचण्ड–नेपाल समूहले बलमिच्याईँ सुरु गरेको छ । सरकार विरुद्ध सडकमा उत्रिएको सो समूहले सडक अवरुद्ध गरेर सर्वसाधारणलाई समेत दुःख दिएको छ ।
आज देशभर विरोध प्रदर्शन गर्न लागेको सो समूहले काठमाडौंको सडक नै छेकेर मञ्च बनाएको छ । विरोध सभाका लागि काठमाडौंको भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरिएको छ ।
प्राय व्यस्त हुने सडकमा मञ्च निर्माण गरिएपछि सो सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ । जसले गर्दा सर्वसाधारणले सास्ति व्यहोर्नु परेको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा हिजोआज दिनहुँजसो विरोध प्रदर्शन हुँदै आएको छ । विरोध कार्यक्रमका कारण राजधानीका सडकमा सवारी आवागमन प्रभावित हुँदै आएको छ । मुख्य सडकबाट सवारीसाधन अन्यत्र पठाउँदा वैकल्पिक सडकमासमेत चाप बढेको छ । जसले गर्दा सर्वसाधारणलाई गन्तव्यमा पुग्न थप समय लाग्ने गरेको छ ।