केहिदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए “उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ” संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका थिए ।
आज पुष्पकमल दाहाल प्रचण्डले पनि ठयाक्कै त्यही शव्द सापटी लिएका छन् तर माधव नेपाललाई लक्षित गर्दै ।
आज आफ्नै निवासमा चिनियाँ टोलीसँग भएको बार्तामा अध्यक्ष प्रचण्डले माधव नेपाल पार्टीको अध्यक्ष नभएको तर मान राख्न र चित्त बुझाउनका लागि अध्यक्ष भयौं भनिदिएको बताएका छन् ।
नेकपाको बिभाजनसँगै नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँगको भेटमा प्रचण्ड र माधवबीच पदकै बिषयमा समेत समस्या रहेको तथ्य खुलेको हो ।
‘माधव नेपाल अध्यक्ष होइनन, चित्त बुझाउनका लागि भनिदिएको मात्रै हो, अध्यक्ष नभन्दासम्म चित्त नबुझाउने भएकोले सहअध्यक्ष भएपनि अध्यक्ष भनिदिएको हो,’ चिनियाँ टोलीसँग अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै खुमलटार निकट एक नेतालाई बताएको समाचार जनताटाइम्सले ब्रेक गरेको छ ।
उक्त अनलाइनका अनुसार चिनिया टोलीसँगको भेटमा नेपाललाई संगै नराखी प्रचण्डले यस्तो बताएपछि सो टोली नेपालको कोटेश्वरस्थित निवासको साटो होटलमा बोलाएको हो ।
खुमलटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले माधव आफू बरावरको हैसियतको नेता नरहेको र अध्यक्ष नरहेको बताएपछि नेपाल निवासमै भेटने योजना त्यागेर होटलमा बोलाएको हो ।
पुष ७ गते मंगलबार बबरमहलस्थित कार्की ब्याङक्वेटमा बसेको बैठकले माधव कुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो ।
यस अघिका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै नेपाल नेकपामा प्रचण्डपछिको दोस्रो बरियताको अध्यक्ष बनेको बताइएको थियो । उनलाई नेता झलनाथ खनालले अध्यक्षमा प्रस्ताव गरेका थिए ।