प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार ब्यक्त गरेका छन् ।
सभापति देउवाले पे्रस विज्ञप्ती जारी गर्दै संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन देशभरिको संघीय निर्वाचन क्षेत्रमा सहभागिता जनाउने सबैलाई बधाई तथा आभार ब्यक्त गरेका हुन् ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रदर्शनले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचारविरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।’
थप भनिएको छ, ‘प्रदर्शनमा सहभागी सबै दिदीबहिनी–दाजुभाईमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु ।
प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने संघीय क्षेत्रीय कार्यसमितिका साथीहरूसंगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु । ’