नेपाली नागरिकताको प्रमाण पत्र किर्ते गरेको आरोपमा सरकारी कर्मचारी सहित झापा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा इलाका प्रशासन कार्यालय गौरीगंज झापाका कार्यालय प्रमुख ३७ वर्षीय धनन्जय कुमार शाह, सोही गाउँपालिका-६ बस्ने सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह नगरपालिका-७ बस्ने ५९ वर्षीय कृष्ण प्रसाद तिम्सिना रहेका छन् ।
इलाका प्रशासन कार्यालय गौरीगंजबाट गौरादह नगरपालिका-७ ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४-०६-७७-००५९१), दिपिका राई (नागरिकता नम्बर ०४-०६-७७-००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४-०६-७७-००५९३) वितरण गरिएको थियो ।
तर, इलाका प्रशासन कार्यालयमा ती नागरिकता वितरण गरिएको सम्बन्धमा कुनै अभिलेख नदेखिएपछि अनुसन्धान अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापालाई निर्देशन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन पछि झापा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले कार्यालयको सफ्टवेयर प्रयोग गरी कीर्ते गरेर नागरिकता वितरण गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरे पश्चात उक्त बिवरण इडिट गरी पुन: बिभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरु उपर जिल्ला अदालत झापाबाट नागरिकता सम्बन्धी कसुर मुद्धामा ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।