कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमको नाफामा वृद्धि भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लागू गरिएको बन्दाबन्दी (लकडाउन)को अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ ।
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।
ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।