जनकपुरधाममा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ।
जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेता कार्यकर्ताहरूले आज प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइएको हो।
सजनकचोकमा जम्मा भएका नेताहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरूद्ध चर्काे नाराबाजी समेत गरेका थिए। कडा सुरक्षाकाबीच प्रहरीलाई चुनौती दिँदै जसपाका नेता कार्यकर्ताहरूले उनीहरूको पुत्ला दहन गरेका हुन्।
संसद विघटन गरी प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको निरकुंश प्रवृत्तिविरूद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।
जसपाले भोलि ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम छ।