प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । रिक्त रहेका ७ मन्त्रालयमा ओलीले छिट्टै मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
नेकपाको ओलीपक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताएका थिए । बिहीबार बालुवाटारमा आयोजित आफ्नो पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ।
प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको बताएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो । आजै वा भोलिसम्ममा विस्तार हुनेगरी तयारी छ, बास्कोटाले भने ।
ओलीनिकट अर्का एक नेताले पनि विस्तारको गृहकार्य भइरहेको बताए । शुक्रबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । नेकपा विभाजनको संघारमा रहँदा पुष्पकमल दाहाल र माधव नेपाल पक्षमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका छन् ।
त्यही ठाउँमा ओलीले नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनी निकट स्रोतका अनुसार पुनर्गठनमा दाहाल पक्षबाट आफूतिर आएका टोपबहादुर रायमाझीलगायतका केही नेतालाई मन्त्री बनाउने तयारी ओलीको छ ।