नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई प्रतिनिधि सभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले राजाको जस्तै निरङ्कुश कदम चालको भन्दै नेता नेपालले भर्त्सना गरे ।
बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले भने, ‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भुमरीमा परेको छ । त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान, जनप्रतिनिधिहरूबाट निर्वाचित संविधान सभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ । त्यसको प्रावधानका विपरीत, भावनाका विपरीत, मर्मका विपरीत प्रतिनिधि सभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौँ । प्रतिनिधि सभालाई कुनै पनि तानाशाही तरिकाबाट विघटित गर्न पाइँदैन । यो ठिक राजाको निरङ्कुश कदम जस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भर्त्सना गर्दछौँ ।’
उनले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मूल धार र मूल शक्ति आफूहरू नै भएको भन्दै गल्ती सच्याएर सबैलाई मूलधारमा जोडिन आह्वान गरे ।
यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्ययनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो । त्यही निर्णयअनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत मदननगर बल्खु पुगेका हुन् |